आफ्नो गाउँसँग जोडिरहनुपर्ने रहेछ : ओममूर्ति अनिल – Jaleshwortoday

आफ्नो गाउँसँग जोडिरहनुपर्ने रहेछ : ओममूर्ति अनिल

 २४ कार्तिक २०८१, शनिबार २१:२८  
1

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ कार्तिक

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले संसारको जुनसुकै ठाउँमा पुगे पनि, जस्तोसुकै पेशा व्यवसायमा संलग्न रहे पनि आफ्नो गाउँ, जन्मस्थान र पृष्ठभूमिलाई भुल्न नहुने बताएका छन् ।

शनिबार आफ्ना बुबा तेजनारायण सिंहको दोस्रो वार्षिक पुण्यतिथिका सन्दर्भमा महोत्तरीको धमौरामा आयोजित स्मृति सभामा बोल्दै उनले अध्ययन र पेशाकर्मका कारण सन्तानहरू शहर केन्द्रित हुन थालेपछि धेरैको गाउँसँगको सम्बन्ध टुटेको बताए ।

आफूहरु पनि पढाइ र कामको सिलसिलामा शहरमा बस्न थालेपछि बुबाले गाउँमा घर बनाउन सुझाव दिएको उनले स्मरण गरे । ‘तत्कालीन अवस्थामा मलाई त्यो रुचीकर थिएन । बुबाको इच्छा पूरा गरिदिएजस्तो लाग्थ्यो । तर, अहिले घरकै कारण गाउँसँग जोडिरहन पाउँदा आनन्द र सन्तुष्टि प्राप्त भइरहेको छ’, उनले भने ।

स्मृति सभामा मुटुरोग विशेषज्ञ डा। ओम मूर्ति अनिल र उनका दाजुहरु अभय सिंह र अजि सिंहले संयुक्त रूपमा बुबाले स्थापना गरेको विद्यालयको शैक्षिक विकासका निम्ति ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरे ।

शनिबार महोत्तरीको बलवा नगरपालिका–१० धमौरास्थित जनता राष्ट्रिय माविका प्रधानाध्यापक योगेन्द्र यादवलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

सो विद्यालयमा दुई दशकसम्म प्रधानाध्यापक रहेका सुशीलकुमार यादवले स्वर्गीय सिंहले ग्रामीण क्षेत्रको शैक्षिक विकासका निम्ति पुर्‍याएको योगदानको स्मरण गरे ।

स्वर्गीय सिंहको पूण्यतिथिको अवसरमा डा। ओम फाउन्डेसनले धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यसक्रममा ६ सयभन्दा बढीको ईको, ईसीजी, सुगर प्रेसर, कोलस्ट्रोललगायतको जाँच गराएका थिए ।