जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २८ कार्तिक
आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन । सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भयो । नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे । डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने भयो । बुधबार भएको यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६।१ ओभरमा पूरा गर्नुपर्ने समीकरण थियो ।
यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले जतिसक्दो कम स्कोरमा रोक्नुपर्ने थियो । बलरहरुको राम्रो प्रदर्शनमा यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लियो ।
दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर घरेलु टोली यूएईले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । यूएईको त्यो निर्णयलाई नेपालले सुरुवातदेखि नै विकेट लिँदै गलत बनाएको थियो ।
कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।
लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।
नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।
८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पार्यो ।
आक्रामक सुरुवात गरेकी विकेटकिपर सावित्री धामी तेस्रो ओभरको चौथो बलमा १२ रन बनाएर आउट भइन् । ९ बलको सामना गरेकी उनले एक चौका प्रहार गरेकी थिइन् । त्यसपछि कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।
पूजा १८ बलमा ४ चौका मदतमा २१ रन बनाएर सातौं ओभरको अन्तिम बलमा आउट हुँदा नेपाल ४८–२ को स्थितिमा थियो । त्यहाँबाट साना प्रविन र उपकप्तान सोनी पाख्रिनले इनिङ्स अघि बढाए । यही जोडीले तेस्रो विकेटका लागि अविजित ३८ रनको साझेदारी गर्दै नेपाललाई विश्वकपमा पुर्याए ।
सानाले अन्तिमसम्म क्रिजमा रहँदै ४२ बल खेलेर अविजित ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले १ चौका पनि प्रहार गरिन् । सोनीले १९ बल खेलेर अविजित १३ रन योगदान गरिन् ।
१६ वटै टोलीको टुङ्गो
एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया स्वतः छनोट भएका छन् ।
अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका हुन् ।
नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो ।
युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो । एसियाली क्षेत्रबाट अघिल्लो पटक नेपाल र थाइल्याण्डलाई पछि पार्दै यूएई विश्वकपमा पुगेको थियो । यस पटक भने यूएईलाई रोकेर नेपाल विश्वकपमा पुगेको छ ।
दोस्रो प्रयासमा सफल
नेपालको यू१९ महिला टोलीले यू१९ विश्वकप छनोट खेलेको दोस्रो पटक हो र दोस्रो प्रयासमा नेपाल विश्वकप पुग्न सफल भएको छ ।
यसअघि सन् २०२२ मा नेपालले यू१९ विश्वकप एसिया क्षेत्र छनोट खेलेको थियो । जहाँ युएई र थाइल्याण्ड भन्दा पछि तेस्रो स्थानमा रहेपछि नेपालले यू १९ विश्वकप खेल्न पाएन । पुरुष टोलीले ८ पटक यू १९ विश्वकप खेलेपनि महिला टोलीले भने अहिलेसम्म खेलेको छैन । यसपटक युवा टोली विश्वकप पुग्ने लक्ष्य र जोशका साथ युएई पुगेको थियो ।
त्यसका लागि नेपालले दाङमा दुई महिना तयारी गरेको थियो भने दिल्लीमा चार अभ्यास खेल खेलेर युएई गएको थियो । त्यसैले प्रशिक्षक रिजालले राम्रो नतिजाको आशा गरेको बताएका थिए । नेपालमा गरिएको अभ्यास र दिल्लीको अभ्यास खेलले गर्दा सबै पक्षमा राम्रो सुधार आएको र त्यसलाई प्रतियोगितामा निरन्तरता दिने रिजालले बताएका थिए ।
रिजालका लागि पनि यो अवसर र चुनौती दुवै थियो । यसअघि पनि नेपालले यू१९ विश्वकप छनोट प्रतियोगिता रिजालकै प्रशिक्षणमा खेलेको थियो । तर विश्वकप पुग्न सकेन । उनले दोस्रो पटक फेरि अवसर पाए । यस पटक भने उनले त्यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएका थिए र आफूलाई प्रमाणित गर्न चाहन्थे । उनले क्यानले देखाएको विश्वासलाई पूरा गर्दै महिला क्रिकेट रुपान्तरणका लागि आधार तयार पार्ने बताएका थिए । ‘यस प्रतियोगिताले हाम्रो महिला क्रिकेटको रुपान्तरणको आधार तयार गर्ने कुरामा म विश्वस्त छु ।’
रिजालले भनेजस्तै नेपालबाट कुनै पनि पर्म्याटको महिला विश्वकप खेल्ने यो पहिलो टोली बन्नेछ । अनी यसबाट नेपाली महिला खेलाडीहरु मोटिभेट हुनेछन् र भर्खर क्रिकेट खेल्न सुरु गरेका खेलाडीहरु पनि यो देखेर बलर ब्याट समाउन प्रेरित हुनेछन् ।
अर्को महत्वपूर्ण विषय भनेको नेपालले बंगलादेशसँग मिलेर यसपछि सन् २०२७ मा हुने यू(१९ महिला टी २० विश्वकप आयोजना गर्दैछ । त्यसका लागि पनि यो ठूलो आधार हुनेछ । घरेलु मैदानमा हुने त्यस विश्वकपका लागि पनि अहिलेदेखि नै खेलाडी तयार पार्नको लागि यस पटकको विश्वकपले ठूलो सहयोग पुग्नेछ र प्रेरणा मिल्नेछ । प्रशिक्षक रिजालले पनि खेलाडीहरुले यसको महत्व बुझेको बताएका थिए । ‘यो प्रतियोगिताको महत्व हाम्रा खेलाडीहरुले पनि राम्ररी बुझेको छन् ।’
महिला टोली पहिलो पटक यू१९ विश्वकपमा छनोट भएमा ९क्यान० अध्यक्ष चतुर बहादुर चन्दले खुशी व्यक्त गर्दै सबैलाई बधाई र धन्यवाद दिए । उनले यस पटक लामो समयको तयारी र प्रशिक्षक अनी खेलाडीहरुको मिहिनेतले यो सफल भएको बताए । ‘सबैलाई बधाई र धन्यवाद छ । नेपाली क्रिकेटका लागि यो ठूलो कुरा हो । यस पटक टिमले लमही भैर।हवा तिलोत्तमा लामो समय तयारी गरेको थियो । दिल्लीमा पनि अभ्यास म्याचहरु खेल्यो । त्यसले पनि ठूलो सहयोग पुग्यो, अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘खेलाडीहरुले पनि व्यक्तिगत रुपमा निकै मिहिनेत गरेका थिए । तयारी पनि राम्रो थियो र सफल भयौँ ।’
अध्यक्ष चन्दले यो जितले सिनियर महिला टिमलाई पनि मोटिभेट हुने र बउने जेनेरेसनलाई पनि प्रेरणा दिने बताए । यस्तै सन् २०२७ मा बंगलादेशसँग मिलेर आफैँ यू१९ महिला टी२० विश्वकप आयोजना गर्दा अझ जोश बढ्ने बताए । ‘यही टिमका आधा खेलाडीहरु २०२७ मा पनि खेल्न लायक हुन्छ । त्यो बेला अनुभवी टिम हुन्छ ।’ चन्दले भने ।