जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ कार्तिक
अनिता देवी महतो छोरा अरविन्द कुमार महतोको निःशुल्क उपचार गराउन पाउँदा निकै हर्षित छिन् । अरविन्द कानसम्बन्धी अपांगता छ । ११ वर्षीय अरविन्दलाई गएको बुधबार जनकपुरधामस्थित स्वास्थ्य संस्थामा चिकित्सकले उपचार गरेर औषधी दिएका छन् ।
औषधीबाट उनको कान सम्बन्धी अपांगता निको हुने चिकित्सकहरुले बताए । चिकित्सकहरुको आश्वासन पाएर अरविन्दकी आमा अनिताको अनुहारमा खुशिको प्रकाश सहजै अनुमान गर्न सकिन्थ्यो ।
लामो समयदेखि कान पाक्ने समस्याका कारण अनिता चिन्तित थिइन् । जाडो याम सुरु हुँदै अरविन्दको कानबाट पीप बग्दा संगै बस्न, सुत्न समेत अप्ठयारो भएको आमा अनिताले सुनाइन् ।
जनकपुरधामस्थित स्वास्थ्य संस्थामा उपचारपछि कुराकानी गर्दै छोरा अरविन्दको समस्या लिएर स्थानीय स्वास्थ्य चौकीहरुमा गएपनि समाधान हुन नसकेको भनिन् ।
डाक्टरसाहबले भन्नुभएको छ, औषधि सेवन गरेपछि कान पाक्ने सम्बन्धी समस्या समाधान हुन्छ अनिताले सुनाइन् ।
कान पाक्ने समस्याले गर्दा अरविन्दलाई पठनपाठनमा समेत समस्या हुँदै आएको थियो ।
कमला नगरपालिका–७ स्थित श्रीप्रगतिशिल मावि हथमुण्डा, जाजिरटोलमा कक्षा ६ मा अध्ययनरत्त अरविन्दलाई जाडो याममा कानको समस्या हुँदा विद्यालय जान समेत अप्ठयारो हुने गरेको थियो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको समावेशी शिक्षा परियोजना अन्तर्गत धनुषाको कमलासहित ती क्षेत्रका पाँच पालिकाका बालबालिकालाई कान, आँखा, घाँटी सम्बन्धी अपांगताको परीक्षण गरेर चार दिवसीय निःशुल्क शिविर नै संचालन गरेको थियो ।
जनकपुरधामको सुनैना अस्पतालमा संचालन गरिएको शिविरमा कमला नगरपालिकाका अरविन्दसँगै, सबैला, विदेह तथा शहीदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकाका बालबालिकाहरुको कान, आँखा, घाँटी सम्बन्धी अपांगताको जाँच गरिएको थियो ।
एअरफोन लगाएर सुन्दा कान सम्बन्धी अपांगता हुनेको संख्या बढेको डा. सुभाष यादवले बताए ।
अघिल्लो समय विकास भएका प्रविधिले धेरै कार्यहरु सहज बनाइदिएको छ ।
बालबालिकाहरु ¥याम्स सिकाउने, स्कूले विद्यार्थी पढ्नदेखि सबै कार्यालयहरुका काम कम्प्युटर, मोवाइलबाटै गर्न थालिएका छन् ।
साथै आजकल घरमा विभिन्न ब्रान्डका अत्याधुनिक प्रविधिजडित टेलिभिजनको स्थान उत्तिकै छ ।
प्रविधिले कामलाई निकै सहज बनाइदिएको छ नै के हामीले विचार गरेका छौँ ? लामो समय कम्प्युटर, मोबाइल चलाउँदा अनि टेलिभिजन हेर्दा हाम्रो आँखा र कानमा बिस्तारै असर परिरहेको छ ।
आँखा सुक्खा हुने, पोल्ने, आँखालाई थकाई महसुस हुने समस्या अहिले बढ्दो रहेको चिकित्सकहरु बताउँछन् ।
अरविन्द जस्तै पाँच वटै पालिकाका आँखा, कान, घाँटी सम्बन्धी अपांगता भएका बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधी, चस्मा उपलब्ध गराएको आसमान नेपालका अनुगमन मुल्यांकन अधिकृत संजिव सिंहले बताए ।
सिंहका अनुसार ती पाँच वटै पालिकाको ३७ वटा विद्यालयमा अध्ययनरत्त १५ हजार नौ सय ४० जना बालबालिकाको वाशिंगटन प्रश्नावली आरमार्फत परीक्षण (स्क्रिनिङ) गरिएकोे थियो ।
सो क्रममा आठ हजार चार सय ५२ जना बालिकाहरुको समेत परीक्षण गर्दा ३ सय ७ जनामा अपांगता फेला परेको थियो ।
आँखा, कान, घाँटी सम्बन्धी अपांगता भएको बालबालिकाहरु फेला परेपछि चिकित्सकहरुको टोली विद्यालयमा खटाएर परीक्षण गरिएको आसमान नेपालका अनुगमन मुल्यांकन अधिकृत सिंहले जानकारी दिए ।
सामान्य भएकालाई आवश्यक औषधी विद्यालयमै उपलब्ध गराइएको थियो भने थप जाँचको आवश्यक्ता देखिएको बालबालिकालाई जनकपुर ल्याइएको थियो ।