सोमबारदेखि जनकपुरधामका नीजि विद्यालयहरुसँगै प्लस टु क्याम्पसहरु बन्द भए पछि विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । जनकपुरधाम उपमहानगरपालिकाले मंसिर २ गते जारी गरेको वार्ताको पत्र अस्पष्ट रहेको कारण विद्यालयहरु हडतालमै देखिएका छन् । वार्तामा कहिले,कुन ठाउँमा,को—को बस्ने लगायतका विषयहरु प्रष्ट नदेखिएकोले आन्दोलनरत विद्यालयहरुले यसलाई झुठा आश्वासन झै बुझेका छन् । यता कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग मनोमानी शुल्क उठाउने गरेको भन्दै विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा उत्रेका हुन् । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । मंगलबार उनीहरूले प्लेकार्डसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । तर, यो निर्णय कार्यान्वयन नगर्ने अडानमा संस्थागत विद्यालयहरू रहेका छन् । यसलाई लिएर हिसान, मधेस प्याब्सन, प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । १३ भदौ २०८१ मा उपमहानगरको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नै शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकाले सो बमोजिम नै लिन पाउनु पर्ने विद्यालयहरूको माग छ । यस अवस्थामा जनकपुरधाम उपमहानगरले अविलम्ब विद्यार्थीहरुको भविष्यको ख्याल गर्दै असन्तुष्ट पक्षलाई सही ढंगले वार्तामा बोलाई विद्यालय खोलाउने वातावरण वनाउन जरुरी छ ।