जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख मनोज कुमार साह अयोध्याबाट फर्कने बित्तिकै प्लस टु क्याम्पस तथा विद्यालयहरुको समस्या सामाधानको लागि बिहिबार २ बजे दिउँसो पालिकामा तिनीहरुलाई वार्ताको लागि बोलाए पछि वार्ता सार्थक बनाउने जिम्मा सम्बन्धीत सरोकारबालाहरुको रहेको देखिन्छ ।
वार्ताको प्रमुख केन्द्र बिन्दु कक्षा ११ र १२ को छात्रबृत्ति रहे पनि हिसान,मधेस प्याब्सन,एनप्याब्सन तथा प्याब्सनले कार्यविधि निर्माण,कक्षोन्नति,नयाँ विद्यालय दर्ता तथा कक्षा ८ को बार्षिक परीक्षाको केन्द्र सम्बन्धमा छलफल हुने स्रोतबाट बुझिएको छ । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने विद्यार्थीहरूको माग छ । यसलाई लिएर हिसान, मधेस प्याब्सन, प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्द यथावत राखेको छ । १३ भदौ २०८१ मा उपमहानगरको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नै शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकाले सो बमोजिम नै लिन पाउनु पर्ने विद्यालयहरूको माग छ । यस परिवेशमा जनकपुरधाम उपमहानगरले अविलम्ब विद्यार्थीहरुको भविष्यको ख्याल गर्दै असन्तुष्ट पक्षहरुको माँगको सम्बोधन गर्दै शुक्रबारदेखि जनकपुरधामको सम्पूर्ण विद्यालयहरु खोलाउने वातावरण वनाउन जरुरी छ ।