जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १३ मंसिर
कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर धनुषा विदेह नगरपालिका–३ करमाहीकी ममता मण्डलको ८ वर्षअघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरिदिए । ममता मण्डलका बाबुआमाले त्यो बेला भनेका थिए, ‘पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’
ममतालाई पनि त्यो बेला भविष्यबारे त्यति सचेत र गंभीर हुने उमेरले छोएको थिएन् । त्यही भएर उनले विदेह नगरपालिका वडा नं. ३ का गणेश मण्डलसँग विवाह गरिन् ।
विवाह गरेको केही महिनालगतै फेरि उनी विदेश गए । ममताले अर्काको अधिया खेती गरेर जसोतसो परिवारको गर्जो टादै आइन् । समय बित्दै गयो, श्रीमान गणेश घर फर्के । अहिले पाँच वर्षदेखि गणेश रोजगारीको क्रममा मलेशियामा छन् ।
ममतालाई पहिले विवाह गर्दा सोचेको र विवाहपछिको अवस्थामा पूरै फरक अनुभूति भयो । विवाहपछि मात्रै उनलाई बालविवाहमा परेको अनुभूति भयो । उनले मनमनै चिन्तन मनन गर्थिन्, ‘सोचेजस्तो हुन्न रहेछ जीवन ।’ त्यो बेला ममताको घरको अवस्था आर्थिक रुपमा दयनीय थियो । समाजमा धन सम्पत्ति र पैसालाई सफलताको सूचक मान्नेको सामु ममताको आर्थिक अवस्था कमजोर भएकाले गर्दा हेपेको महशुस गर्थिन््् ।
अर्काको अधिया खेती गर्दै परिवार धान्दै आएकी ममताले आर्थिक समस्या केही हदसम्म टार्ने सोचले अघि बढिन् । उनको यो सोचलाई आसमान नेपालले सार्थक बनायो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकाका युवा महिलाहरुलाई आत्मनिर्भर हुन विभिन्न तालिम दिएर सामग्रीसमेत सहयोग गरेको छ ।
ममताले जीवन उपयोगी, व्यवसाय संचालन, आर्थिक बचत लगायतको तालिम लिएर बाख्रा पालन गर्ने चाहना राखेपछि आसमान नेपालले एकैपटक आठ थान बाख्रा सहयोग गरेको हो ।
दुई वर्ष अगाडि आसमान नेपालले दिएको ८ वटा बाख्राको संख्या बढेर अहिले एक दर्जन पार गरिसकेको छ ।
केही दिन अघि मात्र उनी १० हजारमा एउटा खसी विक्रि गरेकी हुन् भने अर्को खसी पनि बिक्रिको लागि तयारी अवस्थामा रहेको ममताले भनिन् ।
ममतालाई जहिल्यै आर्थिक समस्याले छटपटी भइरहेको बेला दुई वर्षअघि व्यवसायिक रुपमै वाख्रा पालन गर्ने निधो गरिन् । बाख्रा पालनको सुरुवात गर्नुअघि उनले तालिमहरु लिइन् । शुरुवातमा आठवटा बाख्रा पालनबाट सुरु गरेकी ममतामा यतिबेला १३ वटा बाख्रासहित खसी छन् । आफ्नै जग्गामा खसी बाख्राका लागि उनले घाँस पनि लगाएकी छिन् । भविष्यमा गाउँ टोलका बालबालिका बालविवाहको शिकार हुन नपरोस् भनि ममताजस्तै युवा महिलाहरुले अभियान पनि चलाएकी हुन् । उक्त अभियानमा आसमान नेपालबाट सहयोग पाएर व्यवसाय संचालन गरेका युवा महिलाहरु लागिपरेका छन् ।
बालविवाह न्युनिकरण परियोजना अन्तर्गत युवा महिलाहरुलाई आत्मनिर्भर बनाएर यो अभियानलाई अगाडि बढाउन लागिएको आसमान नेपालले जनाएको छ ।
सोही ठाउँकी गायत्री मण्डल, मिना कुमारी मण्डलले पनि आफूलाईं केही गर्ने इच्छा पहिलेदेखि भएर बाख्रा पालन थालेकी छन् । मिनाले भनिन्, ‘पहिला एक÷दुईवटा पाल्ने गर्थे, अहिले सहयोग पाएर १४ वटा पालेको छु ।’ काममा व्यस्त हुँदा जीउँ पनि फूर्तिलो हुने र आम्दानी पनि हुने भएपछि हौसला मिल्ने गरेको अनुभव सुनाइन् ।