कान सम्बन्धी अपांगता रहेका बालबालिकाको उपचार – Jaleshwortoday

कान सम्बन्धी अपांगता रहेका बालबालिकाको उपचार

 १४ मंसिर २०८१, शुक्रबार २३:४०  
1

कक्षा ८ की लक्ष्मीनियाँ कुमारी महतो कान सम्बन्धी अपांगताले चिन्तित छिन् । धनुषाको विदेह नगरपालिकाकी लक्ष्मीनियाँ लामो समयदेखि कान पाक्ने समस्याले पीडित छिन् । केही दिन अगाडि मात्रै उनको आसमान नेपालले संचालन गरेको शिविरमा जाँच गरेर औषधी दिइएको थियो । तर, कान पाक्ने समस्या ज्यूकात्यू । लक्ष्मीनियाँको कान सम्बन्धी अपांगतालाई समाधान गर्न शुक्रबार कान सम्बन्धी विशेषज्ञ चिकित्क कहाँ जाँच गराइएको छ ।

उनको कानमा जन्मैदेखि समस्या नरहेकाले सहज तरिकाले सुन्नका लागि उपकरणको प्रयोग गर्नुपर्ने भएको छ । कानमा पानी पस्दा लक्ष्मीनियाँको कान पाक्ने समस्या भएको छ । जसलेगर्दा कक्षाकोठामा शिक्षकले पढाउँदा उनले राम्ररी सुन्न सकेको छैन् भने कान गन्ध आउने गरेको छ । उनको समस्याको पहिचान करिब एक महिना अगाडि विद्यालयहरुमा शिक्षकको सहयोगले गरिएको परीक्षण (स्क्रिनिङ)ले भएको थियो । परीक्षणको क्रममा लक्ष्मीनियाँको कानमा समस्या देखिएपछि चिकित्सकहरुको टोली विद्यालयमै पुगेर थप जाँच गरे । उनलाई चिकित्सकहरुले जनकपुरमा स्वास्थ्य संस्थामा आउन सल्लाह दिएका थिए ।

लक्ष्मीनियाँलाई शहीदनगर नगरपालिकाबाट आसमान नेपालले जनकपुरस्थित अस्पलतामा थप जाँच गराएर औषधीसमेत उपलब्ध गराएका थिए । तर, सुधार नदेखिएपछि शुक्रबार पुनः लक्ष्मीनियाँसहित कान पाक्ने समस्याबाट ग्रसित चार जना बालबालिकालाई जनकपुरमा डा. कृष्णनन्दन साहबाट जाँच गराएको आसमान नेपालका फिल्ड सुपरभाइजर रामविनय यादवले बताए ।

सुन्न सक्ने उपकरण उपलब्ध गराएर लक्ष्मीनियाँसहित चारै जनालाई घर पठाउने यादवले बताए ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको समावेशी शिक्षा परियोजना अन्तर्गत धनुषाको शहीदनगर नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका बालबालिकाको अपांगता सम्बन्धी समस्याको समाधान गर्न चिकित्सक कहाँ ल्याएर आवश्यक औषधी र सहयोगी सामग्री समेत सहयोग गरेको छ ।

लक्ष्मीनियाँसँगै उपचारका लागि आएका विदेह नगरपालिकाका इश्वर कुमार चौधरीलाई पनि कान पाक्ने समस्या रहेको छ । कानमा पानी पसेको र मोबाइल एअरफोनको बढी प्रयोगले कानमा समस्या आएको डा. साहले बताए । चौधरीलाई सुन्नमा भइरहेको समस्या समाधानको लागि उपकरणको प्रयोग गर्नुपर्ने अवस्था रहेको डा. साहले बताए ।

शहीदनगर नगरपालिकाबाट आएका राजन कुमार दासलाई जन्मैदेखि कान पाक्ने समस्या रहेको छ । कक्षा ४ मा अध्ययनरत्त ९ वर्षीय राजनको समस्या जटिल रहेको छ । उनलाई औषधी र सुन्न सक्ने उपकरण दिएको डा. साहले बताए ।

शहीदनगर नगरपालिकाका अर्का कान सम्बन्धी अपांगता भएका बरुण कुमार महराको पनि कान पाक्ने सम्बन्धी समस्या रहेको छ । उनको कानको सफाई गरेर सुन्ने उपकरण उपलब्ध गराएको हो ।

करिब दुई साता अघि पनि चारै जनाको जाँच गराएर औषधी दिएकोमा सुधार नदेखिएपछि पुनः उपचार गराउन ल्याएको आसमान नेपालका फिल्ड सुपरभाइजर यादवले बताए ।

यादवका अनुसार कान पाक्ने सम्बन्धी समस्या भएका चारै जनाको उपचार खर्च महगो रहेको छ । एक जनाको जाँच खर्च मात्रै चार हजार पर्न गएको यादवले बताए ।

कान, घाँटी र आँखा सम्बन्धी अपांगता सम्बन्धी जाँच गराएका मध्ये १२ जनाको कान सम्बन्धी समस्या फेला परेको थियो । ती मध्ये ८ जनाको औषधीबाट सुधार भएपनि चार जनाको कानमा सुधार नदेखिएपछि पुनः जाँच गराएको फिल्ड सुपरभाइजर यादवले बताए ।