जलेश्वरटुडे समाचारदाता
धनुुषा, २१ माघ
मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने गरि भएको संवैधानिक कु विरुद्ध लोकतान्त्रिक शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताएका छन् ।
प्रदेश नं.२को प्रदेशसभाको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा तानासाही प्रवृति हावी भएको उल्लेख गर्दै त्यस्ता अलोकतान्त्रिक तानाशाही प्रवृति विरुद्ध परिवर्तनकारी शक्तिहरुलाई एक जुट हुनुको विकल्प नरहेको बताए ।
उनले केही राजनीतिक दलहरु चुनाव भयो भने आफ्नो स्थिति राम्रो हुने सोचेर प्रतिगामी कदमलाई सहयोग गर्दै आएकोले मात्र तानाशाही प्रवृति हावी हुँदै गएको उनको कथन थियो ।
उनले चुनाव होला आफुलाई फाइदा हुने भ्रममा नपर्न आग्रह गर्दै भने ,‘ भ्रममा नपर्नुस कुनै पनि तानाशाहीले आफु हार्ने चुनाव गराउदैन, चुनाव गराउनको लागी प्रतिनिधिसभा विघटन गरिएको छैन । ’
‘व्यवस्था रहे मात्र कुनै दल वा व्यक्ति आफनो विचारलाई स्थापित गर्न सक्दछन, सत्तामा पुग्न सक्दछन । व्यवस्था नै नरहे कहाँ लडनु हुन्छ । तसर्थ आउ संगै मिलेर प्रतिगमन विरुद्ध लडौ । अर्को विकल्प हामी संग छैन ।’ मुख्यमन्त्री राउतले भने ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशसभामा पक्ष र प्रतिपक्षको अनुभूति आफुहरु कहिलै नगरेको र अगामी दिनमा समेत गर्नु नपर्ने विश्वास व्यक्त गरे । कानून निर्माण लगायतको विषयमा प्रतिपक्षबाट पाएको सहयोगको लागी प्रतिपक्षी दल एवं प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिदै मुख्यमन्त्री राउतले अहिलेको प्रदेश सभाले बनाएको एक जुटताको परम्परा अगामी दिनमा समेत कायम रहेन विश्वास दिलाए ।
सभामुख सरोज कुमार यादवको अध्यक्षता तथा प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, प्रतिपक्षीदलका नेताहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।