जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १६ मंसिर
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमीको पहिलो दिन आज नगरदर्शन मनाइएको छ । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्रांगणमा घुमाएर नगरदर्शन गराइएको हो ।
आज साँझ नगरदर्शन हेर्न श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो ।
सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव हुने छ ।
पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम रहेको छ । महोत्सवको अन्तिम दिन मंसिर २२ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
त्रेता युगमा भगवान श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।