मटिहानीबाट बिदा भएको जन्तीलाई सुगा,जलेश्वर,पिपरा तथा जनकपुरधाममा भव्य स्वागत – Jaleshwortoday

मटिहानीबाट बिदा भएको जन्तीलाई सुगा,जलेश्वर,पिपरा तथा जनकपुरधाममा भव्य स्वागत

 १८ मंसिर २०८१, मंगलवार २१:५२  
468716984_4663226513902996_6377331204884718355_n

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १८ मंसिर

fc7cfc2d-e0d0-41e6-87ab-7a2e110227b7

मटिहानीबाट बिदा भएको जन्ती लाई सुगा,जलेश्वर,पिपरा तथा जनकपुरधाममा भव्य स्वागत गरिएको छ । मटिहानीबाट नजिक पर्ने सुगा भवानीपट्टीका वडाध्यक्ष हरिश्चन्द्र महतो,श्री शुकदेव माविका गुरुवर्ग,विद्यार्थीहरु तथा स्थानीय जनसमुदाय,जलेश्वर नगरवासी तथा पिपरा गाउँपालिकाले भव्य स्वागत गर्नुका साथै भोजन समेत व्यवस्था गरेको थियो । पिपरा गाउँपालिका पुग्नु पुर्व जन्तीले जलेश्वरनाथ महादेवको दर्शन गर्नुका साथै स्थानियहरुसँग भेटघाट गरेका थिए । मटिहानी जस्तै जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार र पिपरा गाउँपालिकाको अध्यक्ष रामजानकी यादवले जन्तीको स्वागत तथा अन्य व्यवस्थापन गरेका थिए । जन्ती मंगलबार नै साँझ जनकपुरधाम आइपुगेको थियो । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहने बताइएको छ । सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ । महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् । यसैगरी तेस्रो दिन धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ । यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् । रामकलेवा जन्ती बिदाइ गरिने विधि हो । यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ । अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मंसिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।