जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १८ मंसिर
मधेशमा वर्षैभरि कुनै नकुनै चाडपर्व हुन्छ । पुस र चैत महिनामा ठूलो पर्व नभएपनि महावीर झण्डा जस्ता मेलाले मधेशलाई हर्षोल्लासका माहौल कायम राख्ने गरेको छ ।
कात्र्तिक पूर्णिमाको समाचकेवा सम्पन्न भएसँगै जनकपुरधाममा सीताराम बिबाहपंचमी महोत्सव र बारामा पञ्चवर्षीय गढीमाई मेलाले मधेशलाई रोमाञ्चित बनाएको हो । मधेशको राजधानी जनकपुरधाममा यतिखेर बैबाहिक माहौल छ ।
बजार क्षेत्रमा कार्यक्रम र ग्रामीण क्षेत्रमा स्थानीय एफएमहरुले बैबाहिक माहौल बनाउन सहयोग पुर्याएको छ । एफएमहरुमा बिहानैदेखि अबेरसाँझसम्म बिबाहका मैथिली लोकगीत गुञ्जिएको सुनिन्छ । साता व्यापी रुपमा मनाउने गरिएको सीताराम बिबाहपंचमी महोत्सव विधिवत रुपमा गएको आइतबारदेखि नै प्रारम्भ भइसकेको छ ।
मंगलबार धनु यज्ञ कार्यक्रम छ । यसअघि आइतबार नगर दर्शन र पूmलवारी लीला सोमबार सम्पन्न भएको छ । सीताको अभिभावकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आफै बिबाहको सामग्री, जन्तीको आवास, भोजन व्यवस्थापन लगायतको तयारीको निगरानी गरेका छन् ।
जानकी मन्दिरले गरिरहेको बैबाहिक तयारीमा स्थानीय र प्रदेश सरकार बाहेक स्थानीय संघसंस्थाले पनि सहयोग गरिरहेको छ । तर, बैबाहिक कार्यक्रमको सूक्ष्म व्यवस्थापन भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गरिरहेका छन् ।
बाहिरी व्यवस्थापन जो सुकै संस्थाले गरेपनि बिबाह र भारतको अयोध्याबाट आउन लागेको विशेष जन्तीको आवास र भोजनको व्यवस्थापन जानकी मन्दिरले गरिरहेको छ ।
पाँच वर्षपछि भारतको अयोध्याबाट विशेष जन्ती जनकपुरधाम आएको छ । पाँच सयको संख्यामा रहेका जन्ती सोमबार साँझ नै नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । मंगलबार साँझसम्म जन्ती जनकपुरधाम पुग्ने छन् ।
उनीहरुका लागि मंगलबारदेखि शनिबारसम्मको भोजन र आवासको व्यवस्थापन जानकी मन्दिरले गरेको महन्त रामतपेश्वर दास वैष्णवले बताए ।
भगवान श्रीराम र सीताबीच त्रेता युगमा सम्पन्न बैबाहिक कार्यक्रमको सम्झनामा आउँदो शुक्रबार जनकपुरधाममा बिबाहपंचमी महोत्सव मनाउन लागेको हो । बिबाहपंचमी महोत्सवको पूर्व सन्ध्यामा सीताको मटकोर कार्यक्रम गंगासागरमा गरिने छ ।
बैबाहिक स्वयम्वर कार्यक्रम हुने शुक्रबार मधेश प्रदेशमै सार्वजनिक विदा दिएको छ । धनुषासहित देश र विदेशबाट हजारौको संख्यामा श्रद्धालु भक्तजन बिबाहपंचमी मेला भर्न जनकपुरधाम आउने गरेका छन् ।
यता, पाँच वर्षपछि बाराको गढीमाईमा पनि मेला आयोजना भएको छ । मंसिर १ गतेदेखि नै मेला प्रारम्भ भएपनि विशेष पूजा भने सोमबारदेखि सुरु भएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पूजाअर्चना गरेर विशेष पूजाको उद्घाटन गरेका हुन् । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिरमा दर्शन पूजाका लागि देश र विदेशका श्रद्धालु भक्तजनको आउने क्रम सुरु भएको छ ।
महिना दिनसम्म चल्ने गढीमाई मेलाको महत्वपूर्ण दिन मंसिर २३ र २४ गते रहेको छ । २३ गते रांगा र २४ गते बोकाको बली प्रदान गरिने भएकाले बारा जिल्लाको १६ वटै पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रत्येक पाँच÷पाँच वर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बरियारपुरमा लाग्दै आएको छ । प्रत्येक पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि सबै पालिकाहरुले स्थानीय चाड विदा अन्तर्गत पालिकाहरुमा मंसिर २१ गतेदेखि विदा दिइने सहमति भएको े महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ । आउने शनिबारदेखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्ने अनुमान गरिएको छ ।
साउन महिनामा लगपाँचेले ल्याउने चाडपर्व कात्र्तिक महिनाको पूर्णिमासम्म चलिरहन्छ । यो अवधिमा रक्षाबन्धन, घडी पर्व, कृष्णाजन्माष्टमी, चौठचन्द्र, इन्द्रपूजा, गणेश पूजा, विश्वकर्मा पूजापछि बडादशैं, कोजाग्रत पूर्णिमा । त्यसको दुई साता नबित्दै चार दिवसीय तिहार र लगत्तै छठ पर्व । सामाचकेवाले कात्र्तिक पूर्णिमासम्मै मधेशमा चाडपर्वको माहौल हुन्छ ।