जलेश्वरटुडे समाचारदाता
धनुषा,२० मंसिर
जनप्रतिनिधिले आमजनताको घर भत्काउनमा कठोर रहेको आरोपलाई धनुषाको शहीदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादवले गलत साबित गरेका छन् ।
नगर प्रमुख यादवले आफ्नै घर भत्काएर सडक फराकिलो पार्ने अभियानको सुरुवात गरेका छन् । नगर प्रमुख यादवको आफ्नै घरबाट गरेको सुरुवातले अन्य पालिकाका प्रमुखले पाठ सिक्नुपर्ने हो । आफ्नो घरजग्गामा क्षति हुने कार्य गर्न जनप्रतिनिधिले परहेज गर्ने गरेका छन् । यसैले आमजनताले जनप्रतिनिधिहरुको कार्यप्रति सन्तुष्टिभन्दा असन्तुष्टि बढी पोख्ने गरेको पाइन्छ ।
तर, शहीदनगरका नगर प्रमुख यादवले बिहीबार बिहानै वडा नं. १ कुम्भकर्ण टोलस्थित आफ्नो पुख्र्यौली घरमा डोजर लगाएका छन् । नगर प्रमुख यादवले आफ्नै उपस्थितिमा घर भत्काएर टोलबासीसामू उदाहरणसमेत प्रस्तुत गरेका छन् ।
अर्काको घर टहरा मात्र भत्काउने आरोप आमजनताले लगाइरहेको हुन्छ, नगर प्रमुख यादवले भने–मैले आफ्नै घर भत्काएर सडक फराकिलो पार्ने अभियानको थालनी गरेको छु ।
घर टहरा भत्काउँदा आमजनतालाई पीडा हुने गरेको छ, उनले भने–तर, विकासको लागि त्याग त गर्नैपर्छ ।
विनाशपछि विकास हुने गरेकोले यसका लागि सबैजना तयार हुनुपर्ने हो, उनले भने । आफ्नो घर नभत्काएर हाम्रो भत्काउन खोजेको आरोपलाई गलत साबित गर्नको लागि आफ्नै घर भत्काएर सुरुवात गरेको नगर प्रमुख यादवले बताए । नगर प्रमुख यादवको यो कार्यको नगरबासीले समेत प्रशंसा गरेका छन् ।
