
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ९ पौष
लैंगिक, जीवनउपयोगी सीप र वित्तिय, शिक्षा परियोजना सम्पन्न भएको छ । परियोजना समापनको अवसरमा मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरुले जीवनउपयोगी शिक्षा आजको आवश्यक्ता रहेको बताए ।
मधेश प्रदेश खेलकूद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव चुडामणि फुयालले शिक्षासँगै सीप पनि आवश्यक रहेको बताए । अहिलेको युगमा परम्परागत शिक्षाले रोजगार सिर्जना गर्दैन, उनले भने–शिक्षालाई सीपसित जोडेर अघि बढ्नुपर्छ । सीप सिकेका नागरिक स्वरोजगार हुन सक्ने भएकाले शिक्षासँगै सीप पनि आवश्यक रहेको उनले बताए ।
कक्षा ९ देखि ११ सम्मका विद्यार्थीका लागि लैंगिकता जीवनउपयोगी सीप र वित्तिय शिक्षा परियोजनाका स्थानीय साझेदार लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको समापन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले लैंगिक समानता नहुँदासम्म सामाजिक विभेद अन्त्य हुन नसक्ने तर्क गर्दै सामाजिक रुपान्तरणको लागि यस प्रकारको परियोजना आवश्यक रहेको बताए ।
धनुषा र महोत्तरी जिल्लाको तीन पालिकामा गएको तीन वर्षदेखि लैंगिकता जीवनउपयोगी सीप वित्तिय शिक्षा परियोजना अफलातुन इन्टरनेशनलको सहयोगमा समुन्नत नेपालले स्थानीय संस्थाको समन्वयमा संचालन गरेको थियो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिका र जलेश्वर नगरपालिकाका विद्यालयहरुका ५ हजार ६ सय ३० जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
जनकपुरधामको मावि संकटमोचन, जलेश्वरको मावि मलिवारा र बर्दिबासको मावि पंचधुरा चेरुका विद्यार्थीले सिकाई उपलब्धीबारे प्रस्तुतिकरण गर्दै परियोजनाले निर्धक्कसँग बोल्न र छलफल गर्न, सजहकर्ताको भूमिका निर्वाह गर्न, बचत गर्न, उद्यम संचालन गर्न, नेतृत्व गर्न, समस्या समाधान गर्न, सहकार्य, एकता र सामूहिकतालाई जोड दिन सिकाएको बताए ।
समुन्नत नेपालका निर्देशक पवनकुमार अधिकारीले तीन वर्षसम्म संचालन भएको उक्त परियोजनाले मधेशका तीन पालिकामा लिएको लक्ष्य पूरा भएको बताए । सो अवसरमा समुन्नत नेपालका गोपाल प्रसाद भटट्राईले परियोजनाको प्रगति विवरण प्रस्तुत गर्दै विद्यार्थीमा व्यक्तित्व विकास भएको बताए ।
संकटमोचन माविका शिक्षक बलराम साह, पंचधुरा माविका प्रअ रमेश प्रसाद पोखरेलले परियोजनाले विद्यार्थीमा देखिएको परिवर्तनबारे बताएका थिए ।