जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने ः मुख्यमन्त्री राउत – Jaleshwortoday

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने ः मुख्यमन्त्री राउत

 २३ फाल्गुन २०७७, आईतवार ०८:३९  

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ फागुुन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा आयोजित तीनदिने जिल्ला समन्वय समिति महासङ्घको प्रदेशस्तरीय विस्तारित भेलालाई आज सम्बोधन गर्नुहुँदै उनले नेपालको संविधान द्वारा जिल्ला समन्वय समितिलाई प्रदान गरिएको सम्पूर्ण अधिकार प्रदेश सरकारले दिन तयार रहेको बताए । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले प्रदेशभित्रका आठवटै जिल्ला समन्वय समितिलाई संविधानप्रदत्त अधिकार प्रदान गर्नका लागि आवश्यक कानून तथा कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउँदै चाँडै नै अधिकार प्रत्यायोजनका काम हुने विश्वास दिलाए ।
नेपालको संविधान २०७२ को धारा २२० मा जिल्ला समन्वय समितिलाई सङ्घीय, प्रदेश र स्थानीय तहका तीनै सरकारका बीच समन्वयको भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारले गरेको काम अनुगमन र निरीक्षण गर्ने तथा प्रदेश सरकारले बनाएको कानूनअनुसार अन्य कामकाज गर्ने उल्लेख भएअनुसार प्रदेश नं २ सरकारले आफ्ना प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक कानून र कार्यविधि बनाउने गृहकार्य शुरु गरिएको उहाँले जानकारी दिए । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकार सङ्घीय सरकारको उपेक्षामा परेको गुनासो गरे। कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय पदाधिकारीसहित सातवटै प्रदेशका जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो । जिल्ला समन्वय समिति प्रदेश नं २ का अध्यक्ष एवं महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।