७२ औं विश्व कुष्ठरोग दिवस मनाइयो – Jaleshwortoday

७२ औं विश्व कुष्ठरोग दिवस मनाइयो

 १३ माघ २०८१, आईतवार २१:००  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १३ माघ

भव्य रुपमा सफल पारौ, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं भन्ने नाराका साथ धनुषामा ७२औ विश्व कुष्ठरोग दिवस मनाइएको छ ।

प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइने गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, धनुषाले एनएलआर नेपाल र बीएनएमटी नेपालको सहयोगमा आइतबा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले कुष्ठरोगीसित भेदभाव गर्न नहुनेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक उमेश यादवले कुष्ठरोग बारेको सामाजिक अवधारणाबाट अभैm हामी अगाडि बढ्न नसकेको बताए ।

कुष्ठरोग निको हुने रोग भएपनि समाजमा कुष्ठरोगीलाई भेदभाव गरिएको स्मरण गर्दै यसतर्फ संचारमाध्यमको ध्यानाकर्षण गराए ।

संचारमाध्यमले आमजनतालाई सचेत पारेर कुष्ठरोगीसित भइरहेको भेदभावलाई अन्त्य गर्न सकिने तर्क गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक यादवले राज्यले कुष्ठरोगलाई प्राथमिकतामा नराखेपनि मधेशमा यसको अवस्था डरलाग्दो रहेको बताए ।

मधेशमा प्रति दश हजार जनसंख्यामा करिब २ (१.६२ ) जना कुष्ठरोग प्रभावित रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांकमा यो घटेर प्रति दश हजार करिब १ जना (०.९२) मात्र कुष्ठरोग प्रभावित रहेको छ ।

तथ्यांक अनुसार धनुषाको नगराइन नगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् ।

धनुषामा कुष्ठरोगको अवस्था डरलाग्दो रहेकाले यसबारे आमजनतालाई सचेत पार्दै अघि बढ्नुपर्ने धारणा उनले राखे । उनले भने ’यसको मुख्य पक्ष भनेको सामाजिक कारणले रोग लुकाएर बस्ने वातावरण हुनु भएन खुलेर परीक्षण तथा उपचार गर्ने वातावरण बनाउन सबैले ध्यान दिनुपर्छ।’

उनले यसको नियन्त्रण तथा उन्मुलन पहुच बढाउनु पर्ने बताउदै यो दिवस जनचेतनाका लागि मनाउने गरिएको तथा यसको समयमै उचारको पहुचमा पुर्याउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कुष्ठरोग, क्षयरोग फोकल पर्सन महेश साहले संचालन गरेको कार्यक्रममा एनएलपी नेपालका दिपेन्द्र सिंहले धनुषा, महोत्तरी र सर्लाही जिल्लामा कुष्ठरोगीको अवस्थाबारे प्रकाश पारेका थिए ।

सो अवसरमा स्वास्थ्य कार्यालयका युगलकिशोर यादव, सुनिल पण्डित, पंकज साह, दिपेन्द्र यादव लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।