
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १३ माघ
धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरुका लागि तीन दिने खेलौना बनाउने तालिम आइतबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी) ले संचालन गरेको तालिममा सहभागीले खेलौना बनाउन सिकेका छन् ।
विदेह नगरपालिका–५ एकराहीस्थित स्वास्थ्य चौकीमा कार्यरत्त जनस्वास्थ्य निरीक्षक सबिता सापकोटा घरमै बसेर विभिन्न खेलौना बनाउन सक्ने भएकी छन् । गुडिया, पुतली, बल, आकारहरु घरमै बनाएर बालबालिकालाई खेलाउन सकिने उनले भनिन् । तालिममा सहभागी सबिताले अभिभावक, गर्भवती महिलाहरुलाई पनि खेलौना बनाउन बारे जानकारी दिनुका साथै यसबाट हुने फाइदाबारे समेत जानकारी गराउने बताइन् । अहिले बालबालिका अधिकांश समय मोबाइलको प्रयोग गरिरहेकाले घरमै बनाएको खेलौनाले उनीहरुको ध्यान यसतर्फ तान्न सकिने सबिताको विश्वास छ ।
सबितासँगै तालिममा सहभागी जनकनन्दनी गाउँपालिका–६ की आरती ठाकुरले गाउँमा गर्भवती महिला, सुत्केरीसहित अभिभावकलाई खेलौना बनाउने बारे जानकारी दिनुका साथै यसबाट हुने फाइदाबारे समेत बताउने भएकी छिन् । सानै उमेरमा बालबालिकालाई बल लगायतको खेलौनामार्फत विभिन्न रंग र अक्षरहरु चिनाउन सकिने भएकाले यस प्रकारको तालिमको सिकाई उपलब्धी कार्यान्वयनमा ल्याउने आरतीको तर्क छ ।
वडा नम्बर ६ का स्वास्थ्य स्वयम्सेविका पनि रहेकी आरतीले तालिमको सिकाई उपलब्धी व्यवहारमा ल्याउने प्रतिबद्धता समेत गरिन् ।
उनीसँगै सहभागी विदेह नगरपालिका–५ का स्वास्थ्य स्वयम्सेविका फुलकुमारी यादवले पनि बालबालिकालाई खेलाउँदै सिकाउँदै जानुपर्ने धाररणा राखिन् ।
खेलौनाको प्रयोग गरेर बालबालिकाको शारिरिक विकासलाई समेत वृद्धि गर्न सकिने भएकाले तालिम उपयोगी रहेको फुलकुमारीले बताइन् ।
बालबालिकालाई खेलाउँदै सहज तरिकाले आधारभूत ज्ञान दिन सकिने तालिमका सहजकर्ता नमिता कार्कीले बताइन् । विभिन्न रंगको कपडाले बल, गुडियाहरु बनाइएकाले यसमा रहेको रंग बालबालिकाले खेल्दै चिन्ने कार्कीले भनिन् ।
माघ ११ गतेदेखि सुरु भएको तालिममा सशक्त बालिका परियोजना अन्तर्गत विदेह नगरपालिकाका वडा नं. ५ र ७ तथा जनकनन्दनी गाउँपालिकाको वडा नं. ६ का तीन जना महिला स्वास्थ्यकर्मीसहित २१ जना स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको एसडीआरसीका कार्यक्रम संयोजक बिवश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार स्वास्थ्य स्वयम्सेविकाहरु घर घरमा जाने गरेकाले उनीहरु प्रशिक्षित हुँदा अभिभावक, गर्भवती महिलाहरुलाई सजिलै खेलौना बनाउने र यसबाट हुने फाइदाबारे जानकारी गराउने छन् ।
विदेह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दानी ठाकुरले उद्घाटन गरेको तालिमको अनुगमन जनकनन्दनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिकिन्द्र साहले गरेका थिए । सो अवसरमा एसडीआरसीका कार्य समिति सदस्य सुदिना झा, कार्यक्रम अधिकृत विनिता यादव, फिल्ड सुपरभाइजरहरु जिवछ दास, दिव्या झा, अनोज कापर र राजकिशोर लगायतले सहजीकरण गरेका थिए ।