शहिद दिवसको अवसरमा वीर शहिदहरूको सम्झनामा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा विरामीलाई फलफूल बितरण – Jaleshwortoday

शहिद दिवसको अवसरमा वीर शहिदहरूको सम्झनामा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा विरामीलाई फलफूल बितरण

 १६ माघ २०८१, बुधबार २१:३२  
1

आरजे ईर्शाद
महोत्तरी, १६ माघ

शहिद दिवसको अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहान प्रादेशिक अस्पताल जलेश्वरमा उपचारार्थ बिरामीहरुलाई फलफूल वितरण गरिनुका साथै जलेश्वरमा रहेको शहिद स्तम्भमा माल्यार्पण समेत गरिएको छ ।

सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी लालवावु कवारीको उपस्थितीमा फलफूल वितरण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा वीर शहिदहरूको सम्झना गर्दै फलफूल वितरण गरिएको हो ।
सो अवसरमा प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा. विकास कुमार साहले अतिथीहरुलाई उपचारार्थ विरामीहरुको उपचारबारे जानकारी गराउनु भएको थियो ।
फलफुल वितरण कार्यक्रममा नगर प्रमुख सुरेश साह सोनार सहित प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, प्रहरी उपरिक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक बिनोद केसी, श्री गोरखनाथ गणका सेनानी झलक बहादुर गुरुङ, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवल किशोर साह,नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दास, उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष शिवचन्द्र चौधरी,पब्लिक स्वास्थ्य नर्सिङ अधिकृत प्रतिभा सिंह लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

फलफूल वितरणपश्चात जलेश्वर नगरपालिकाको वडानं २ को जिरोमाइलमा रहेको शहिद वाटिकामा रहेको शहिद स्तम्भमा माल्यार्पणसहित शहिदहरुको सम्झना गरिएको छ ।
मधेश आन्दोलन तथा विभिन्न राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सम्झनामा तयार गरिएको सो शहिद बाटिकामा जलेश्वरका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष, प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख,जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख,पब्लिक स्वास्थ्य नर्सिङ अधिकृत प्रतिभा सिंह सहित सञ्चारकर्मी, सुरक्षाकर्मीहरु पुगेर माल्यार्पणसहित शहिदहरुको चर्चा गर्नुभएको थियो ।
शहिद बाटिकामा विभिन्न समयमा शहिद भएका रामनारायण मिश्र, शिवचन्द्र मिश्र, केशव कोइराला, मिथिलेश दुब्बे, रामविलास ठाकुर कयूम दफालीको नाम अंकित गरिएको छ भने पछिल्लो मधेश आन्दोलनमा शहिद भएका रोहन चौधरी, रामवीवेक यादव, रामशिला ठाकुर, गणेश चौधरी, अमित ठाकुर, विरेन्द्र बिच्छाको अर्धकदको शालिक राखिएको छ ।