ज्ञान गंगाद्वारा ८औं स्कुल डेमा प्रभात फेरी,नयाँ नामाँकनमा २ लाख ३० हजारको दुर्घटना विमा – Jaleshwortoday

ज्ञान गंगाद्वारा ८औं स्कुल डेमा प्रभात फेरी,नयाँ नामाँकनमा २ लाख ३० हजारको दुर्घटना विमा

 २१ माघ २०८१, सोमबार ००:१३  
4

सोनी साह
जनकपुरधाम, २० माघ

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले ८ औं वार्षिकोत्सव तथा सरस्वती पुजाको अवसरमा प्रभात फेरी कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा विद्यालयका विद्यार्थीहरु,शिक्षक शिक्षिका,पत्रकार तथा हनुमाननगर चौकीका प्रहरीहरुको सहभागिता रहेको थियो ।
सो रैलीमा विद्यार्थीहरुले नेपालको झण्डा,विद्यालयको झण्डा तथा विभिन्न संदेशमुलक प्ले कार्डहरु बोकेर हनुमाननगर,कुवा तथा रामपुरका विभिन्न ठाउँहरु हुदै विद्यालयमा फर्केका थिए । विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले सोमबार विद्यालयले माता सरस्वतीको पुजाआजा धुमधामसँग गर्ने भएकोले सबै अभिभावक,विद्यार्थीहरु,गुरुवर्ग तथा नव अभिभावक तथा विद्यार्थीहरुलाई उपस्थित भई दिन हुनको लागि आमन्त्रण गर्नु भएको छ । नयाँ विद्यार्थीहरुको भर्ना निःशुल्क गरिने भएकोले समयमै उपस्थित भई मौकाको फाइदा लिन अभिभावकहरुलाई प्रधानाध्यापक साहले आग्रह गर्नु भएको छ । प्रधानाध्यापक साहले यस वर्षदेखि प्रत्येक नयाँ विद्यार्थीको नामाँकनमा २ लाख ३० हजारको दुर्घटना विमाको सुविधा दिने बताउनुभयो । यो सुविधा पुरानो विद्यार्थीहरुले समेत पाउने घोषणा समेत गर्नुभयो ।

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी सोमबार (आज) श्रीपञ्चमी मनाइदैछ ।संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ र्। माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिएको छ ।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ÷आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ ।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ ।

IMG_1036