
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ बैशाख
महोत्तरी जिल्लाको बलवा नगरपालिकामा गरिबीको रेखा मुनी रहेका ४ सय भन्दा बढी विपन्न परिवारलाई आयआर्जनको लागि सहयोग वितरण गरिएको छ।
बलवा नगरपालिकाको वडानं. ४ को तिलगढ तथा वडा नं. ११ को रौजा भगवतीपुरमा ४ सय भन्दा बढी परिवारलाई आयआर्जनको लागि आर्थिक तथा प्राविधिक सहयोग गरिएको हो ।
दलित समाज उत्थान समिति नेपाल र इस्लामिक रिलिफ नेपालको साझेदारीमा आयोजित गरिबी न्यूनीकरण तथा उत्थानशील परियोजना अन्तर्गत आयआर्जनको लागि सामग्री वितरण गरिएको दलित समाज उत्थान समितिका अध्यक्ष सुनिल ठाकुरले जानकारी दिनुभयो ।
घरधुरी सर्वेक्षण मार्फत उनीहरुले रोजे अनुसारको व्यवसाय सञ्चालन गर्न र आयआर्जन सुदृढ बनाउन हरेक परिवारलाई ५० हजारभन्दा बढीको आर्थिक र प्राविधिक सहयोग गरिएको जानकारी दिनुहुदै अध्यक्ष ठाकुरले भन्नुभयो, ‘गरिबी रेखा मुनि परेका अति विपन्न घरधुरीलाई आयआर्जन सम्बन्धी पशुपालन, किराना पसल, व्यूटीपार्लर, कस्मेटिक पसल, सिलाईकटाई सम्बन्धी सामग्रीलगायतका व्यवसाय सञ्चालको लागि सहयोग गरिएको छ ।
संस्थाबाट घरधुरी सर्वेक्षण गरि समुदायमा रहेका अति विपन्न, असहाय, दलित, मुस्लिमहरुलाई छनौट गरि उनीहरुको व्यवसायमा रहेको रुचि अनुसार उचित तालिम प्रदान गरि सामग्री बितरण गरिएको छ। संस्थाले १५४ घरधुरीलाई बाख्रा, ७२ जनालाई राँगा, ५० जनालाई किराना पसल, १९ जनालाई सिलाइकटाईको सामग्री, दुई जनालाई मिठाई पसल, दुई जनालाई चुडा पसल र २९ जनालाई कस्मेटिक पसल सञ्चालनको लागि प्रोत्साहन तथा सहयोग गरिएको जनाएको छ ।
सामग्री बितरण पूर्व व्यवसाय कसरी सञ्चालन गर्ने, व्यवसायलाई कसरी अगाडि बढाउने जस्ता विषयवस्तुसहितका तालिम समेत प्रदान गरिनुका साथै संस्थाद्वारा बितरण गरिएको पशुहरुको पशु अधिकृतको रोहबरमा पशुहरुको शारीरिक परिक्षण गरि भ्याक्सिनेसन समेत गरिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष तथा व्यवस्थापन समितिको संयोजक सुनिल ठाकुरको अध्यक्षतामा अएको सहयोग वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, बलवा नगरपालिका वडानं. ३ र ४ का वडाध्यक्ष रामशरण यादव, प्रमोद यादव सहितका उपस्थिती रहेको थियो ।