
जलेश्वरटुडे समाचारदाता
धनुषा, १० श्रावण
एक ताका चर्चामा आएको नेपाल सद्भावना पार्टी पुनः सक्रिय भई अगाडी बढदै छ ।
रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन कुमार साह लगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन् ।
आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जा छाप चुनाव चिन्ह प्रदान गरेको छ । पञ्जा छाप चुनाव चिह्न पुरानो सद्भावना पार्टीको चुनाव चिह्न हो।
२०४७ बैशाख ३ गते गजेन्द्र नारायण सिंहको नेतत्वमा नेपाल सद्भावना पार्टी दर्ता भएको थियो। पछि उक्त पार्टीको नाममा थुप्रै कानुनी लडाइँ भएको थियो। नेपाल सद्भावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटक—पटक मुद्दा दायर भएको थियो । पछिल्लो समयमा नेपाल सद्भावना पार्टी अनिल झासँग पुगेको थियो। झाले नेपाल सद्भावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए ।
त्यसपछि नेपाल सद्भावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो ।
हराएको पार्टीलाई पुनः ब्युँझाइएको सहमहासचिव राजेश चौधरीले बताए ।
उनले भने, ‘ यो पार्टीलाई पहिले झैं मधेसमा लोकप्रिय बनाउछौं । यसको लागि सबैले पञ्जाछापको झण्डामुनी आएर सहयोग गर्न आवश्यक छ ।’