भर्खरै आर्थिक वर्ष २०७७।०७८ समाप्त भएको छ । अहिले पालिकाका लेखापालहरु देखि निजामति तर्फका लेखापालहरु समेत आराममा देखिएका छन । अहिले प्रायःजसो लेखापालहरुलाई सम्पर्क गर्दा फोन उठिरहेका छैनन् । यसको प्रमुख कारण खोतल्दै जाँदा असारमा भ्याई नभ्याई विहान बेलुका चेक काट्ने काममा व्यस्त हुँदा माँशिक तथा शारिरीक तनाब बढेको बुझिएको छ । त्यसकारण कोही भ्रमणमा निस्केका छन् भने कोही आफ्नो घरमै आराममा छन् । कतिपय सेवाग्राहीको चेक समयमै नबन्दा तनाब समेत भएको थियो । कतिपयको गत आ.व.को भुक्तानी यस आ.व.को साउन भदौमा हुने समेत आश्वासन दिइएको छ । यसले सेवाग्राहीलाई क्षति भएको छ । एउटा लेखापालले पालिका प्रमुख,प्रमुख प्रशासकिय अधिकृतको तजविजमा काम गर्नुपर्ने हुन्छ । तर लेखाको व्यवस्थापन गर्न जति लेखापालको जिम्मेबारी हुन्छ,त्यति नै जिम्मेबारी पालिका प्रमुख तथा कार्यालय प्रमुखको हुन्छ । त्यस कारण लेखापालले समयमै कसरी आफ्ना कार्यहरु समपन्न गर्न सक्छन् त्यसको लागि मासिक रुपमा निर्देशन,अनुगमन तथा समस्या समाधानमा पालिका तथा कार्यालय प्रमुखले जुट्नु पर्ने आवश्यकता रहेको देखिन्छ । कतिपय लेखापाल तथा कार्यालय प्रमुखलाई दुई वटा कार्यालयहरुको काम गर्नुपर्ने भएकोले पनि काम समयमै नभएको देखिन्छ । यसको लागि एउटा लेखापाल वा कार्यालय प्रमुखलाई एउटै कार्यालयको लागि काम गराउदा धेरै समस्याहरु समाधान हुने देखिन्छ । कतिपय कार्यालयको आज होइन,अर्काे दिन काम गरिदिन्छु भन्ने जय भोलिलाई मान्नेहरुले पनि तुरुन्त काम गरिदिएर आफ्नो जिम्मेबारी पुरा गर्न सक्छन् । को.ले.नि.का.को अनुसार बिल पेश भएको एक हप्ताभित्र सम्बन्धित सेवाग्राहिको भुक्तानी अनिवार्य हुनुपर्छ । पछिल्ला गल्तीहरुलाई नयाँ आ.व.मा सुधार गर्नुपर्ने हुन्छ तर यो पटक—पटक दोहोरिएको देखिएको छ । यसको लागि सम्बन्धित सरोकारबालाहरुले समयमै आफ्नो गल्ती सुधार गरी पहिले भन्दा समयमै काम गर्न तथा गराउन आवश्यक छ । कार्यालय प्रमुख र लेखापालले नियमित रुपमा कार्यालयमा उपस्थिति हुन जरुरी छ । किनभने भुक्तानी देखि कार्यालयको अन्य काममा आवश्यकता हुन्छ ।