जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ श्रावण
बलिउडको चर्चित जोडीको रुपमा रहेको अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानको विवाह सन् १९९१ मा भएको थियो । विवाहको धेरै वर्षपछि सन् २००४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । उनीहरुको सम्बन्धविच्छेदपछि उनीहरुका दुई सन्तान सारा अली खान र इब्राहिम अमृताको हेरचाहमा रहने निर्णय भयो । यद्यपि, सैफ पनि छोराछोरीसँग नियमित सम्पर्कमा रहन्थे । उनीहरुकी छोरी सारा अली खान पछिल्लो समयमा निकै चर्चामा छिन् । उनले ‘सिंबा’, ‘केदारनाथ’ जस्ता थुप्रै फिल्महरु खेलेकी छन् । उनी उनकी कान्छी आमा अभिनेत्री करीना कपूरसँग पनि निकै नजिक छिन् । उनले एक अन्तरवार्तामा सैफ र अमृताको सम्बन्धविच्छेदको निर्णय सही भएको बताएकी छन् । उनले आफ्नो माता र पिताको बिग्रिएको सम्बन्धको बारेमा भनिन्, ‘ जब दुई वटामात्रै बाटो हुन्छ । एउटा एक साथ रहने र कोही पनि खुशी नहुनु र अर्को छुट्टिएर आफ्नो आफ्नो जीवनमा खुशी हुने । र भेट भएको समयमा छुट्टै माया पाउनु निकै विशेष हुन्छ ।’उनले अगाडि भनिन्, ‘म आफ्नी आमासँग रहन्छु । उनी मेरी सबैभन्दा मिल्ने साथी हुन् । अनि बुबा सधैँ फोनमा मेरो साथमा हुनुहुन्छ । म जतिबेला चाह्यो त्यही समय भेट्न सक्छु । मलाई थाहा छ मेरो आमा र बुबा एकसाथ खुशी थिएनन् । मलाई लाग्छ त्यो बेला उनीहरुले सम्बन्धविच्छेद गर्ने निर्णय गर्नु निकै सही थियो । हामी पहिले यति खुशी थिएनौँ । त्यसैले सबैकुरा कुनै न कुनै कारणले नै हुन्छ ।’