युवा सहभागिता आवश्यक – Jaleshwortoday

युवा सहभागिता आवश्यक

 २९ श्रावण २०७८, शुक्रबार ००:०५  
Education

युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । हरेक परिवर्तनमा युवा आन्दोलन निर्णायक पनि भएको छ । नेपालको सन्दर्भमा समृद्धि र विकासका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक भएको चर्चा हुने गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । अहिले नेपालको अधिकतम युवाहरु आफ्नो आर्थिक सबलताको लागि बिदेशीएका छन् । जसको फलस्वरुप नेपालको विभिन्न क्षेत्रहरुमा युवा सहभागिता न्यून रहेको छ । नेपालबाट बिदेशिएका युवाहरुलाई नेपाल सरकारले फर्काउनको लागि स्वदेशमै रोजगारीको सिर्जना गर्न जरुरी छ । राज्यले क्षणिक रुपमा जतिसुकै बिप्रेषण कमाए पनि यो दीगो आम्दानी होइन । यसको लागि नेपाली युवाहरुलाई प्राविधिक तथा कृषिजन्य तालिम दिई स्वदेशमै रोजगारी सिर्जना गर्न सहज आर्थिक सहयोग वा ऋणको व्यवस्था गर्नुपर्छ । युवा शक्तिलाई राज्यको योजना प्रक्रियादेखि कार्यान्वयन प्रक्रियासम्म प्रयोग गर्न सक्नु आवश्यक छ । अहिले पनि अधिकत युवा बेरोजगारीको अवस्थामा रहेकोले तिनीहरुलाई अवसर तथा रोजगारी प्रदान गर्न सरकारको तिनै तहले पहल गर्न जरुरी छ । युवाहरुले समेत राज्यको विकासको हरेक क्षेत्रमा सहभागिता जनाउनुपर्छ । देश निर्माणमा युवा शक्तिले जोशका साथ अग्रसर हुन आवश्यक छ ।