जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० श्रावण
कोरोना महामारीका कारण करिब ५ महिनादेखि बन्द रहेका शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।कोरोना भाइरसको दोस्रो लहर सुरु भए यता जनकपुरधामका शैक्षिक संस्था बन्द रहेका छन् । अनलाइनको माध्यमबाट शैक्षिक कार्यक्रम प्रभावित नभएको भन्दै कोरोना संक्रमण घटेकोले भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने एन प्याबसन धनुषाका निवर्तमान सचिव डीके चौधरीले जानकारी दिए । उनले कोरोना संक्रमणका कारण शैक्षिक संस्था बन्द रहेकोले विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै जनकपुरधाममा कोरोना संक्रमण घटेकोले भौतिक रुपमा पठनपाठन सञ्चालन हुनुपर्ने बताए । उनका अनुसार जानकी विद्या मन्दिरका सञ्चालकसमेत रहेका चौधरीले स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने छ । वीरगञ्जमा शैक्षिक संस्था खुलिसकेकाले अब सुरक्षाको मापदण्ड अपनाउँदै यहाँको पनि विद्यालयहरु खुल्नुपर्ने चौधरीको माग छ । सरकारी निर्णयको अवज्ञा गर्दै कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोले सबैका लागि समान नियम कानुन लागू हुनुपर्ने उनको धारणा छ । एन प्याब्सन धनुषाका जनकपुरधाम नगरअध्यक्ष दिपक ठाकुरले स्थानीय सरकारले विद्यालय सञ्चालनप्रति उदासिनता देखाएको गुनासो गरे । कोरोना संक्रमण दर घटेको र धनुषामा २०÷२५ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाल सरकारले नै विद्यालय बन्द गर्ने निर्णय गरेकोले सरकारले नै खोल्ने अनुमति नदिएसम्म आफूहरु विद्यालय सञ्चालनको अनुमति नदिने बताए ।
जनस्तरबाट विद्यालय खोल्न माग आइरहे पनि केन्द्रकै निर्णयबाट विद्यालय खुल्ने सीडीओ बास्तोलाले बताए । सीडीओ बास्तोलाले तेस्रो लहरको जोखिमसमेत रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरे ।