
चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन । चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधाम स्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहा स्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् । तराई मधेसको लाइफलाइन चुरे तथा वन जंगल रहेको र चुरे क्षेत्र दिन–प्रतिदिन दोहन हुँदै गएकोले उनिहरु चुरे वन जंगल क्षेत्र संरक्षण सहितका माग राखेर अनशन बसेका छन् । ६ दिनदेखि आमरण अनशनमा बसेका राय र यादवको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि अहिलेसम्म सरोकारवाला निकायले उनिहरुका मागप्रति सरकारले बेवास्ता गरेका छन् । अनसनमा बसेकाहरुले माग पूरा नभएसम्म अनसन नतोड्ने, बरु मर्न तयार रहेको बताएका छन् । चुरे वन क्षेत्र विनास रोक्न माग गरेर सत्याग्रहमा बस्दा प्रदेश सरकारले तुरुन्त माँग सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । किनभने यो प्रदेश २ को सरकारको पनि सरोकारको विषय हो । अहिलेसम्म प्रदेश सांसददेखि जनकपुरधाम उपमहानगर प्रमुख,नेपाल सद्भावना पार्टिका कार्यकर्ता लगायत विभिन्न समाजसेवी संघसंस्थाहरु उनीहरुका माँग जायज हो भनेर समर्थन गरिसकेको परिवेशमा प्रदेश सरकारले चुप्पी लाग्नु चिन्ता र लज्जाको विषय बनेको छ । उनिहरुलाई केहि भए यसको जिम्मा प्रदेश सरकार तथा सरोकारबालाले लिनुपर्ने हुन्छ ।