जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ९ भाद्र
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत सक्ने बितिकै मान्यता पाएका छन् । माधव नेपाल नेतृत्वको पक्षमा नेकपा एकीकृत समाजवादी बाट ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् । नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन् । यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए । जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन् । तीमध्ये दुई जना निलम्बनमा परेका छन् । निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए ।
चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए । सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ । केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ ।