५२ ताल र ७२ कुण्डको शहर भनेर जनकपुरधामलाई नै चिनिन्छ । जनकपुरधामको अर्काे विशेषताको रुपमा समग्र जनकपुरधाम एउटै ताल बन्न गएको छ । किनभने लगातार २ देखि ३ दिन वर्षाको पानी परेपछि बाटो देखि शहरबासीको घर जलमग्न हुन्छन् । यसले गर्दा समग्र जनकपुरधाम नै एउटा तालको रुप लिन्छन् । एडिबि सडक निर्माण योजनाले यस समस्याको निकास दिने धेरैको विश्वास थियो । तर यसले जनकपुरबासीलाई निरास बनाएको छ । यत्रो ठूलो लगानी लागे पनि पानीको निकास नलाग्नु सडकविद् तथा् यसका योजनाकार माथि प्रश्न उठेको छ । सडकको विचमा हेमपाइप नराखी बाटोको छेउबाट नाला बनाएर पानी निकाल्दा नै बेस हुन्थ्यो जस्तो लाग्दछ ।
अहिले शहर जलमग्न छ । जताततै पानीको डुवानको हाहाकार छ । यति बेला यस उपमहानगरको मेयरको जिम्मेबारी हुन आउछ की यहाँको जनता कसरी पानीको डुवानबाट सुरक्षित रहोस् । तर अहिलेसम्म मेयरबाट कुनै पनि सुधारात्मक कार्य नदेखिएकोले यो निन्दनीय छ । यसको लागि तुरुन्त पानी निकाल्नको लागि समाधान खोज्न जरुरी छ । दीर्घकालिन दृष्टि अनुसार यस सम्बन्धमा राम्रोसँग चिन्तन तथा कार्ययोजना बनाएर समाधानको लागि विज्ञहरुसँग छलफल गरी समाधानको उपाय खोज्नु जरुरी छ । नालाहरुको सरसफाईमा समेत तत्काल ध्यान दिनु जरुरी छ ।