![Nepal](https://www.jaleshwortoday.com/wp-content/uploads/2021/08/238669680_376620184039347_115107032109608910_n.jpg)
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १२ भाद्र
जलेश्वर—भिठामोड नाकामा आवतजावत सहज गर्नुपर्ने माग गर्दै महोत्तरीको भिठ्ठामोडमा मलिवाडाका स्थानीयवासीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । शुक्रवार दिउँसो दुई बजेदेखि ४ बजे सम्म जलेश्वर नगरपालिका–३का वडाध्यक्ष संजय पाण्डेको नेतृत्वमा स्थानीयवासीहरुले धर्ना प्रदर्शन गरेका हुन् । कोभिड—१९ कोरोनाको कारण लामो समयदेखि नेपाल भारत सीमामा सर्वसाधारणहरुलाई आवत जावतमा रोक लगाईए पनि मालबाहक ट्रक तथा ठुला सवारी साधनहरु सहजै आवतजावत गर्दै आएको छ । सर्वसाधारणको लागि पनि सडक खोल्नु पर्ने मांग उनीहरुले गरेका हुन् । सर्वसाधारणहरुका लागि आवतजावतमा रोक लगाईए पनि दशगजाको खेत आलीको बाटो प्रयोग गर्नू पर्ने बाध्यता रहेकोले मुख्य सडकबाटै आवत जावत हुनु पर्ने मांग गर्दै प्रदर्शन गरिएको हो । वर्षाको बेला खेतआलीको बाटो हिलाम्य बनेको छ । सो मार्ग हुँदै दिनहुँ सयौ नागरिकको आवतजावत हुने गरेको छ । नेपाल–भारतबीच बेटी रोटीको सम्बन्ध रहेकोले सीमामा आवागमन तत्काल सहज नगरिए कडा आन्दोलनमा जाने चेतावनी समेत उनीहरुले दिए । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका मात्र नभई जनकपुधाम लगायतका यस क्षेत्रका नागरिक किनमेल गर्नको लागि भारतीय बजार भिठ्ठामोड जाने गरेका छन् ।