जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ भाद्र
श्री कृष्णजन्माष्टमीको अवसरमा कृष्णमन्दिरमा भक्तजनको भिड देखिएको छ ।
श्री कृष्ण भगवानको जन्म राति करिब १२ भएकोले सोही समयमा श्री कृष्ण मन्दिरहरुमा भक्तजनको भिडभाड देखिएको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका थिए । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । जन्माष्टमीको अवसरमा महोत्तरीकोे मटिहानी,सुगा भवानीपट्टि,ंजलेश्वर,सारी,पिगौना,एकडारा,मनरा,सम्सी,सोनमा,गौशाला,बर्दिवास, परिकौली तथा धनुषाको जनकपुरधामको मुरलीचौक,स्टेशन चौक लगायत देशभरको कृष्णमन्दिर तथा गाउँ गाउँमा कृष्णको प्रतिमा बनाएर पूजाअर्चनाको साथै मेला र सांस्कति कार्यक्रम आयोजन गरिएको छ ।जलेश्वर न.पा. वडा नं. ४ मा पर्ने सुगा भवानीपट्टिमा कृष्ण राधाको रास लिलाको आयोजना गरिएको वडाध्यक्ष लोकेन्द्र लाल कर्णले बताउनुभयो । सोही अवसरमा सो ठाउँमा ३ दिन मेला समेत लाग्ने गरेको वहाँले बताउनुभयो ।कृष्ण जन्माष्टमीकोको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक विदा दिएको थियो ।