सबैको प्रयासले खुल्यो महोत्तरीको भिठाभोड नाका – Jaleshwortoday

सबैको प्रयासले खुल्यो महोत्तरीको भिठाभोड नाका

 १६ भाद्र २०७८, बुधबार ००:३५  
Nepal

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ भाद्र
महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि सबैको प्रयासले आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ । गत शुक्रबार,शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमा नाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए । सो नाकाबाट मालबाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरू पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आवतजावत गरिरहेका थिए । मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरू भए पनि सवारी साधन अझै सञ्चालन नभएकोले सिघ्र खुल्ने आशा पलाएको छ । मालबाहक गाडीहरू पहिलेझैं आवतजावत गरिरहेका छन् । रासस