राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरुको कडा संघर्ष गर्ने चेतावनी – Jaleshwortoday

राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरुको कडा संघर्ष गर्ने चेतावनी

 September 4, 2021  
Rajarshi Janak

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ भाद्र
जनकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयकाका आन्दोलित शिक्षकहरुले कडा संघर्षको चेतावनी दिएका छन् । समयमै माग सम्बोधन नभए कडा तालाबन्दी सहित आमरण अनशनको अन्दोलनसम्म गर्न सक्ने चेतावनी दिएका हुन् । स्थापनाकाल देखि पेपर कोर्स कन्ट्रयाक्टमा काम गरिरहेका उनीहरू करार नियुक्ति को माग गर्दै गत साउन २४ गतेदेखि आन्दोलनमा उत्रेका हुन् । भदौ ८ गतेदेखि पठनपाठन ठप्प पारी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघको ब्यानरमा धर्ना बसेका हुन् । जनकपुरको भ्रमरपुराचोक स्थित विश्व विद्यालयको मूलद्वारमै बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिँदै आएका शिक्षकहरुले आफुहरुको मागप्रति सम्बन्धित पक्ष उदासिन रहेको आरोप लगाउँदै कडा संघर्षमा जाने चेतावनी दिएका छन् । स्थापनाकालमै आफुहरुलाई कोर्ष कन्ट्र्यक्टमा पढाउन भनेको र पछि दरबन्दी करारमा नियुक्त गरिदिने आश्वासन दिएपनि हालसम्म मागसम्बोधन नगर्दा बाध्य भएर आन्दोलनमा उत्रेका विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए । दुई वर्षदेखि विश्वविद्यालयसंग २६ वटा दरबन्दी रहेको छ । तर पटक पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाई नगरेको शिक्षकहरुले गुनासो गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत गएको साउन २४ गतेदेखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेको र दोश्रो चरणको धर्नाको कार्यक्रम गरिरहेका छन् । यथाशीघ्र माग सम्बोधन नगरे अनिश्चितकालीन तालाबन्दी र आमरण अनशनसम्मका कडा संघर्ष थालिने संयोजक यादवले चेतावनी दिए ।