जनकपुरधाममा शहिदहरुको नाममा बनिरहेको शहिद गेटमै अनियमितता – Jaleshwortoday

जनकपुरधाममा शहिदहरुको नाममा बनिरहेको शहिद गेटमै अनियमितता

 २४ भाद्र २०७८, बिहीबार ०१:०४  
Janakpurdham

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ भाद्र
जनकपुरधाम– मधेश आन्दोलनका सहिदहरुको सम्मानमा बनाउन लागेको प्रवेशद्वारमै अनियमितता भएको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले ४ करोड ८ लाखको लागतमा निर्माण भइरहेको सहिद गेट निर्माणमा अनियमितता भएको पाएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार सहिद गेटको टेण्डर प्रकृयामै अनियमितता भएको पाइएको हो । प्रवेशद्वार निर्माणका लागि पहिलो पटक १० माघ २०७६ मा ३० दिने सूचना सहित टेण्डर आह्वान गरेको थियो । त्यसमा रविन्द्र कन्स्ट्रक्सन प्रालिले मात्र प्रस्ताव पेश गरेको थियो । तर अनुभव सम्बन्धि कागजात नक्कली रहेको पाइएपछि ठेक्का अस्वीकृत गरेको थियो । तत्पश्चात १८ फागुन २०७६ मा १५ दिने सूचना प्रकाशित गरि फेरि टेन्डर आह्वान गरेको थियो ।
उक्त टेन्डरमा गौरी पार्वती साप जेभीले ४ करोड २८ लाख ७० हजार ४ सय ६२ रुपैयाँ अनुमानित लागत गरेकोमा मात्र १.०५ प्रतिशत घटी अर्थात ४ करोड ८ लाख ८ हजार ५३ रुपैयाँमा प्रस्ताव स्वीकृत गरिएको पाइएको हो । महालेखा परिक्षाको प्रतिवेदनमा बिन प्रतिस्पर्धा प्रस्तावकर्तालाई ठेक्का उपलब्ध गराइएको उल्लेख गरको हो । २० आसार २०७७ मा शिलान्यास गरिएको सहिद गेट निर्माणमा आ.व. २०७६–०७७ मा ४४ लाख ७७ हजार ७ सय २ र आ.व. २०७७–०७८ मा २ करोड बजेट छुट्याइएको छ । जसमा हालसम्म १ करोड ३२ लाख ३२ हजार ४ सय २ रुपैयाँ गत जेठ महिनासम्ममा खर्च भएको प्रतिवेदनले देखाएको छ । सीतारामको प्रतिामा साथै मधेश आन्दोलनका सहिदहरुको प्रतिामा राख्ने गरी धनुष आकारमा सहिद गेट निर्माण भइरहेको छ ।