
जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ भाद्र
मधेसीहरुको अधिकार प्राप्तिको लागि नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टी बीच एकता भएको छ । जनकपुरधाममा नेसपाको केन्द्रिय कार्यालयमा शनिवार एक समारोह बीच पार्टी एकता गरिएको हो । दुवै पार्टीका प्रतिनिधिहरू बीच शनिबार संयुक्त बैठक सम्पन्न भई पार्टी एकीकरणको घोषणा गरिएको नेपाल सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता पवन कुमार साहले संयृुक्त प्रेस विज्ञप्ति पढेर जानकारी गराउनु भएको थियो । एकीकृत नयाँ पार्टीको नाम ‘नेपाल सद्भावना पार्टी’ रहने छ भने पार्टीको झण्डा, चुनाव चिन्ह र छाप नेपाल सद्भावना पार्टीले प्रयोग गर्दै आएको हुने दुवै दल बीच सहमति भएको हो । पार्टी एकीकरण समारोहमा बोल्दै तत्कालीन राष्ट्रवादी पार्टीका केन्द्रीय अध्यक्ष सहजाद मिया मिक्रानीले देश र जनताको विकासका लागि आफूहरूले पार्टी एकीकरण गरेको बताए । यता नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले मधेशी, आदिवासी, जनजाती, थारु, मुस्लिम, दलित, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरूको आवश्यकता पूर्तिका लागि दुबै पार्टी एक भएको धारणा राखे । पहिचान र अधिकार सहितको संघीयता, समृद्धि, सुशासन र समतामूलक समाजवाद स्थापित गर्न तथा मधेसमुक्ती आन्दोलनको आँधीबेरी सिर्जना गर्न अपरिहार्य भएकाले नेपालको राजनीतिमा अग्रगामी परिवर्तनकारी शक्तिको रूपमा रहेका दुबै पार्टी बीच एकीकरण गरिएको उनले स्पष्ट पारे । सो कार्यक्रममा केन्द्रिय महासचिव नागेन्द्र्र सिंह,के.सदस्य विरेन्द्र कुमार महतो,प्रदेश नं.२ युवा मञ्चको अध्यक्ष राज कुमार चौधरी,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,उपाध्यक्ष बुधन साह,सदस्यहरुमा राम सतिस साह,प्रा. बालकेश्वर ठाकुर,सरोज पासवान लगायत सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन जि.अध्यक्ष कर्णले गर्नुभएको थियो ।