नेपाल—भारत सिमा बन्दले विहारको चुनावमा असर पर्ने – Jaleshwortoday

नेपाल—भारत सिमा बन्दले विहारको चुनावमा असर पर्ने

 २२ आश्विन २०७७, बिहीबार १९:२४  
Boarder

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ आश्विन

कोरोना महामारीका कारण विगत ६ महिनादेखि सील नेपाल भारत सीमाको कारण भारतको विहारको विधानसभा चुनावमा असर पर्ने देखिएको छ । विहारका हजारौ भारतीय नागरिक नेपालमा रोजगारको लागि आएको र सीमा सीलको कारण तिनीहरु समयमै घर फर्किन नसक्ने भएकाले चुनावी अंक गणितमा असर पर्ने सम्भावना बढेको हो ।

सिल सीमा नखुले दशगजासंग टाँसिएको भारत विहारको २० वटा विधानसभा क्षेत्रमा असर पर्ने देखिएको छ । नेपाल भारतको दशगजा सीमासंग टाँसिएर रहेको विहारको २० विधानसभा क्षेत्रमा वाल्मीकिनगर, रामनगर, सिकटा, रक्सौल, नरकटिया, ढाका, रीगा, बथनाहा, परिहार, सुरसंड, हरलाखी, खजौल, बाबूबरही, लौकहा, निर्मली, नरपतगंज, फारबिसगंज, सिकटी, बहादुरगंज, ठाकुरगंज रहेको छ ।

प्रत्येक विधानसभा क्षेत्रमा अढाईलाखदेखि ३ लाख मतदाता रहेका छन् । सीमा सिलको कारण नेपालमा रोजगारका लागि आएका विहारका एक विधानसभाका १५ हजार अर्थात सीमासंग टाँसिएका २० विधानसभा क्षेत्रका ३ लाख मतदाता घर फर्किनबाट बञ्चित भएको भारतीय सञ्चार माध्यमा आजतकले जनाएको छ ।

पूर्वी चंपारणको रक्सौल विधानसभा क्षेत्र, नेपालको औद्योगिक क्षेत्र वीरगंजसंग टाँसिएर रहेको छ । वीरगंजका उद्योगीहरु पनि आफ्ना नजिकका व्यक्तिलाई रक्सौलको विधायकमा हेर्न चाहेको र रक्सौलकै धेरै मतदाता वीरगंजमा रोजगारीमा रहेका छन् । वीरगञ्जमा मात्र विहारका २० हजार मतदाता रोजगारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सीतामढ़ीको रीगा विसक्षेत्रका बैरगनिया बाजारका दुईसयभन्दा बढी भारतीय नेपाल रौतहटको गौरÞ, शिवनगर, चंद्रनिगाहपुर, डुमरिया बाजारमा रोजगार गरिरहेका छन् ।
भारतीय नागरिकलाई चुनावमा सहभागि गराउने विषयमा वीरगंजमा सीमावर्ती जिल्लाको अधिकारीबिच छलफल समेत भएको बताइएको छ । शांतिपूर्ण निष्पक्ष चुनावको लागि दुवैपक्षका अधिकारीहरुको बिच रणनीति तय भएको जनाएको छ ।

नेपालमा पुनः कोरोना संक्रमण बढेकोले विधानसभा चुनावसम्म सीमा खुल्ने सम्भावना कम रहेको छ । बेतिया जिल्लाअधिकारी कुंदन कुमारका अनुसार नेपालमा रहेका भारतीय नागरिकलाई नेपाल प्रशासनले घार जान दिने छन् । तर चुनावको दुईदिन अर्थात ४८ घण्टा पहिला नै सीमा पार गर्नुपर्ने छ । तर दुईदिन पहिले चुनावमा नगए त्यसको जिम्ममा नेपाल प्रशासनले नलिने भनेको पनि बेतिया जिल्ला अधिकारी कुंदन कुमारले बताएका छन् ।