जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३१ भाद्र
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा नाच गराउनेलाई कडा कारबाही गरिने भएको छ । पछिल्लो समय विभिन्न उत्सवमा आयोजन गर्ने आर्केस्ट्रा कार्यक्रममा नाचगानकै क्रममा झैझगडा लगायतका अपराधिक गतिविधि हुन थालेपछि प्रहरीले यसमाथि प्रतिबन्ध लगाएको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मातहतको प्रहरी कार्यालयहरुलाई आ–आफ्नो क्षेत्रमा आरकेस्ट्रा कार्यक्रम नहुन निर्देशन दिएका हुन् । कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न , रोक्न नमाने आयोजक र कलाकारसमेतलाई नियन्त्रणमा लिन एसपी आचार्यले निर्देशन दिएका छन् । अश्लील गीता तथा नृत्यले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागुऔषध सेवन गर्ने क्रम बढेको उनको भनाइ छ । सुरुमा सांस्कृतिक कार्यक्रम भनेपनि अधिकांश कार्यक्रम संस्कृति र समाज बिगार्ने खालका रहेकाले त्यस्ता कार्यक्रम रोक्न निर्देशन दिएको एसपी आचार्यले बताए ।