प्रविधिको दूरुपयोग कसरी रोक्ने ? – Jaleshwortoday

प्रविधिको दूरुपयोग कसरी रोक्ने ?

 २ आश्विन २०७८, शनिबार ०७:१८  
Prabidhi

कोरोना संक्रमण जोखिमका कारण भौतिक रूपमा विद्यालय बन्द हुँदा विद्यार्थीलाई सिकाइसँग जोड्नका लागि अनलाइनबाट पढाउन सुरु भयो । मोबाइल किन्न नसक्ने अभिभावकले पनि दुःख गरेर आफ्ना छोराछोरीको लागि मोबाइल किनिदिए, इन्टरनेट जोडिदिए । यसले बालबालिकाको सहज पहुँचमा प्रविधि र इन्टरनेटमा पुग्यो । यसको सकारात्मक वा नकारात्मक प्रभाव देखिन थालेको छ । प्रविधि र इन्टरनेटको सदुपयोगबारे बालबालिका र अभिभावक अनभिज्ञ हुँदा पढाइमा मात्रै नभएर इन्टरनेटको दुरुपयोगमा समेत लागेका छन् । यसको प्रभाव उनीहरूको अनलाइन पढाइमा समेत देखा पर्न थालेको छ । गत असारमा काठमाडौंकै एक सामुदायिक विद्यालयमा अध्ययनरत किशोरले अनलाइन ग्रुपमा अश्लील भिडियो पठाए । जसको कारण अर्को ग्रुप बनाउन प¥यो । शिक्षक तथा विद्यार्थीहरू उनलाई विद्यालयको उक्त ग्रुपमा सहभागी गराउन नमानेपछि त्यसपछि भएका अनलाइन कक्षामा सहभागी गराइएन । केही समय कारबाही स्वरूप उनलाई अनलाइन कक्षामा सहभागी नगराउने तयारी भयो । तर शिक्षक र उनका सहपाठीहरु यो गम्भीर क्रियाकलाप भएकोले फेरि रिजोइन गराउन नहुने अडान लिए । निज विद्यार्थीले अन्जानमा भएको भन्दै माफी मागे । त्यसबीचमा प्रधानाध्यापकले विद्यार्थीहरूलाई प्रविधि तथा इन्टरनेटको सदुपयोगबारे सिकाउन जरुरी देखेपछि विषय शिक्षकहरूलाई यसबारे जानकारी राख्न र आफ्ना विद्यार्थीहरूलाई सदुपयोगबारे जानकारी दिन निर्देशन दिए । ती विद्यार्थीको बारेमा पटक पटक विद्यार्थी, शिक्षकबीच बैठक राखेपछि करिब दुई महिनामा बुधबार मात्रै रिजोइन गराएको प्रधानाध्यापकले बताइन् । उनले भनिन् ‘अझै केही समय रिजोइन नगराउँदा उनलाई मानसिक समस्या हुन सक्ने खतरा हुन्छ । सुध्रने मौका दिनुपर्छ भनेर कन्भिन्स गरेपछि रिजोइन गराएका छौं ।’ प्रधानाध्यापक ती विद्यार्थीको यो हर्कतले विद्यालय, शिक्षकलाई सजग समेत गराएको बताउँछिन् । अधिकांश विद्यालयले प्रविधि सदुपयोगबारे विद्यार्थी, अभिभावकलाई सचेत गराएको पाइँदैन । शिक्षक आफैँ सचेत नभएको एक शिक्षक स्वीकार गर्छन् ‘हामी आफैँ यो विषयमा भर्खर सिकिरहेका छौं । हामीभन्दा बढी त विद्यार्थी जानकार छन् । तर यसको सदुपयोग दुरुपयोगबारे उनीहरू सचेत छैनन् जस्तो लाग्छ । मैले भर्खर सिक्दैछु ।’ यसको लागि विद्यालयले नै जिम्मेवारी लिएर शिक्षक, विद्यार्थी, अभिभावकलाई तालिम दिनुपर्ने उनको भनाइ छ । यसले अहिले बालबालिका कत्ति जोखिममा छन् भन्ने प्रष्ट देखाउँछ । तर यो जोखिमबाट बालबालिकालाई जोगाउन अभिभावक, शिक्षक, विद्यालय, सरकारी निकायले सचेतनाका लागि प्रभावकारी काम गर्न सकेको देखिँदैन । यसको नियन्त्रणको लागि नेपाल सरकारले नीति तथा कानुन बनाउन जरुरी छ भने अभिभावकहरुले समेत सचेत हुन जरुरी छ ।