असोज ३ गते नेपाल सरकारले संविधान दिवस मनाए पनि मधेसमा यस दिनलाई कालो दिवसको रुपमा मनाउन थालेको हो । यसै दिन नेपाल सरकारले लाख विरोधको बाबजुद बन्दुक र प्रशासनको आँडमा मधेसको मुद्दाहरुलाई थाति राखेर अपूर्ण संविधानको घोषणा गर्यो । करिब ६ वर्षदेखि मधेसी जनता आफ्नो अधिकार प्राप्तिको लागि असोज ३ लाई कालो दिन रुपमा मनाई सो दिनको साँझ पख ब्लैक आउट अर्थात निश्चित समयको लागि बती निभाएर विरोध प्रदर्शन गर्दै आएको छ । मधेसबादी विभिन्न पार्टीहरुले समेत यस दिनमा विभिन्न बिरोधका कार्यक्रमहरु जिल्ला—जिल्लामा गरी सरकारलाई साँकेतिक रुपमा २०७२ को संविधानलाई संसोधन लगायतका माँगहरु राखि विरोध गर्दै आएका छन् । २०७२ साल असोज ३ गते मधेस तथा मधेसीहरुको ईच्छा विपरित पक्षपातपूर्ण तथा अपूर्ण संविधानको घोषणा गरिएकोले यस दिनलाई कालो दिनको रुपमा मनाइन्छ । वास्तवमा यो मधेसी जनसमुदाय तथा मधेसको लागि दुःख तथा शोकको दिन हो । तर अहिले विभिन्न मधेसबादी दलहरु खसबादी शासकहरुसँग गठबन्धन गरी पदीय लोभमा परी सरकारमा जाने देखिएकोले धेरैजसो दिग्गज मधेसबादी नेता तथा पार्टीहरुले बाहिरबाट कालो दिनको रुपमा मनाए पनि व्यवहारिक रुपमा भने फरक तथा खसबादी चिन्तनबाट ओतप्रोत भएको प्रष्ट देखिन्छ । नेपाल सद्भावना पार्टीले भाद्र ३० गते नै प्रेस विज्ञप्ति निकालेर असोज ३ गते कालो दिनको रुपमा मनाउने घोषणा गरिसके छ भने लोसपा समेतले कालो दिवसको रुपमा मनाउने स्रोतबाट बुझिएको छ । तर जसपाले संविधान दिवस पनि नमनाउने र कालो दिवस पनि नमनाई मौन रहने बुझिएको छ । सरकारले मधेसी्
समुदाय लगायत अन्यको माँग पुरा गर्न संविधान संशोधन गर्नुपर्छ ।