
जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ असोज
प्रदेश २ सभा सचिवालयमा विविध खर्चको नाममा आधार प्रमाणबिनै १ करोड ३१ लाख रकम खर्चेको पाइएको छ । आर्थिक वर्ष २०७६।०७७ मा प्रदेशसभा सचिवालयले विविध खर्चको बिल संगलग्न गरेकोपनि खर्च गर्नुपर्ने आधारसहितको प्रमाण संलग्न नगरी १ करोड ३१ लाख ३६ हजार खर्च गरेको हो । अधारप्रमाण पेश नगरी सो रकम खर्च गरेको महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा उल्लेख छ । यो रकम सभाले विविध खर्च अन्तर्गत अतिरिक्त समयमा काम गरेको खाजाखानाना, होटेल तथा पार्टिप्यालेसमा भएको सभासमारोहको बाहेकको खर्च हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५ मा कार्यालय मातहतबाट समेत सम्पादन गरिने कार्यक्रमलाई मितव्ययी बनाउन आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्नुपर्ने र नियम ३६ (३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण कागजात संगलग्न गरेर खर्च लेख्नु पर्ने व्यवस्था छ । विविध खर्चको स्पष्ट उद्देश्य र खर्चको याथार्थता पुष्टि हुने प्रमाण बेगर खर्च लेख्ने कार्यमा नियन्त्रण गर्न महालेखापरीक्षक कार्यालयले सुझाव दिएको छ । प्रदेशसभा सचिवालयमा स्थापनाकालदेखि नै बसेका वर्तमानका निमित सचिव रञ्जित यादव विभिन्न सरसमान खरिदमा अनियमितता गर्दै आएका छन् । सभामुख सरोजकुमार यादवको विशेष आग्रहमा उनलाई सचिवालयको निमित सचिव बनाइएको छ । सांसदका लागि खरिद हुने ल्यापटप, कार्यालयका सरसमानखरिद, भौतिक संरचना निर्माण लगायतमा सभामुख यादव र निमित सचिव यादवको मिलेमतोमा अनियमितता हुने गरेको छ ।