
जलेश्वरटुडे समाचारदाता
काठमाडौंं, १० असोज
सरकारले बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा लैजान आवश्यक कार्यविधि बनाउने काम आइतबारबाट शुरु गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मेरुदण्ड पक्षघात समूहसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नयाँ बजेटले दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरेसँगै मेरुदण्ड पक्षघात समूह नेपालले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी धन्यवाद ज्ञापन गरेको छ । भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताएको उनको सचिवालयले जनाएको छ ।
उनका अनुसार यस कार्यक्रमको कार्यान्वयनमा केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाइने छ । आइतबारदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउनेबारे छलफल थालेको समेत उनले जानकारी गराएका हुन् । उनकाअनुसार एक/दुई दिनभित्रै सरोकारवालासँग छलफल गरी कार्यविधि टुंगो लाग्ने उनको भनाइ छ । मन्त्री शर्माले कार्यान्वयनमा ढुक्क हुन पनि आग्रह गरे ।
मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्युरी भएका व्यक्ति छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनर्स्थापना हुन टेवा पुग्ने बताए
स्पाइनल कर्ड इन्ज्युरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।