
बीबीसी
काठमाडौं, २२ आश्विन
कन्ट्याक्ट ट्रेसिङमा गएका अधिकारीलाई झुटो विवरण दिएको आरोपमा दक्षिण कोरियामा एक शिक्षकलाई ६ महिना जेल सजाय सुनाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका शिक्षकले कन्ट्याक्ट ट्रेसिङका लागि गएका अधिकारीहरुलाई सही विवरण दिएका थिएनन् । २४ वर्षीय शिक्षकले समन्वय नगरेका कारण ८० जना मानिसमा यो संक्रमण फैलिएको भन्दै अदालतले उनलाई अदालतले ६ महिनाको जेल सजाय तोकेको हो । कन्ट्याक्ट ट्रेसिङमा गएका अधिकारीहरुलाई उनले आफू बेरोजगार रहेको बताएका थिए ।
जबकी उनी पश्चिमी सोलको इन्चेओनमा रहेको एक निजी विद्यालयमा पढाउँथे । अघिल्लो दिन मात्र पनि उनी विद्यालयमा पढाउन गएका थिए ।
शिक्षकले अदालतमा आफ्नो गल्ती स्वीकार गर्दै आफूले उक्त झुटको विषय यति गम्भीर होला भनेर नसोचेको बताएका थिए । कोरोना नियन्त्रणको मामिलामा दक्षिण कोरिया एक सफल मुलुक हो । सुरुआतमा नै दक्षिण कोरियाले संक्रमण नियन्त्रणका लागि व्यापक मात्रामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको काम गरेको थियो । जसको कारण दक्षिण कोरियामा कोरोना नियन्त्रणमा आएको थियो । बिहीबार सार्वजनिक गरिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ६९ नयाँ संक्रमित थपिएका छन् ।