
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १२ असोज
संसदीय समितिले चाडपर्वको बेलामा सर्वसाधारणलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सर्वसुलभ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए । उनले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकोले यसको परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको बताए ।
यसैगरी साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि समितिले निर्देशन दिएको छ ।
‘अहिले चाडपर्वको बेलामा उपभोक्ताले सुलभ, सरल र सुपथ मोलमा दैनिक खाद्यान्नका कुराहरु, दैनिक उपभोग्य सामग्रीका कुराहरु र अन्य सम्बन्धित निकायबाट उपलब्ध हुने त्यस्तो व्यवस्था गर्न सम्बन्धित निकायलाई आजको बैठकले निर्देशन दिन्छ,’ सभापति श्रीवास्तवले भने, ‘कुनै चिजको अभाव नहोस्, अभाव भएको अवस्थामा सरकारले के कस्तो कदम चाल्नुपर्ने हो, त्यसको लागि यो समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छ ।’
समितिले देशभर बजार अनुगमन गर्न पनि निर्देशन दिएको छ ।