जलेश्वरटुुडे समाचारदाता
महोत्तरी, १३ असोज
महोत्तरीमा वन पैदावार चोरी तस्करी मौलाएको छ । पुर्व–पश्चिम राजमार्ग आसपासमा रहेको जंगलबाट वन पैदावार तस्करी पछिल्लो समयमा फस्टाएको छ ।
बर्दिबासदेखि सर्लाही जिल्लाको सीमा क्षेत्र खैरमारा सम्म दिनहुँ पैदावार चोरीको घटना बढेको जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विनोद कुमार सिंहले बताए । वन सुरक्षाकालागि खटिएका वन रक्षक नियमित गस्ती गरेपनि चोरी तस्करी रोकिएको छैन, उनले भने,‘काठ सहित दिनहुँ चोर पक्राउ पर्छन् ।
गरिबको नाउँमा दाउरा, स्याउलाको बहाना बनाउँदै वन पैदावार मासिएको छ । वन मासिएको आरोपमा पक्राउ गर्नेलाई स्थानीय नेताको दवावमा कारवाहि गर्न सकिएको छैन ।’ वन पैदावार चोरी तस्करी गर्नेलाई राजनीति दलका नेताले नै संरक्षण गर्दा कारवाही गर्न समस्या भएको छ, उनले थपे । जिल्ला वन कार्यालयले गोप्य सुचनाको अधारमा छापामारी गरेर वनबाट चोरी गरी ल्याएको काठ बरामद गरी मुद्दा समेत चलाएको प्रमुख सिंहले बताए ।
चोर तस्करमाथि कारवाही समेत गरिएको छ । वन क्षेत्रमै बसोबास गर्ने र जंगल आसपासको बस्तीका व्यक्तिले जंगलबाट पैदावार चोरी निकासीमा संलग्न रहेको पाइएको छ । वन पैदावार चोरी नियन्त्रण गर्न र गस्तीको क्रममा स्थानीयले अबरोध गरेको सिंहले बताए । चोरी पैठारी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला वन प्रमुख सिंहले बताए । आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न जिल्ला वन कार्यालय महोतरीले चार वटा मुद्दामा जिल्ला वन कार्यालय महोत्तरीले ७ जनालाई प्रतिवादी बनाई १७ लाख ९ हजार ७ सय ५७ रुपैयाँ विगो सहित मुद्दा चलाईएको छ ।
गत आर्थिक वर्षमा २१.८१ क्यूबिक फिट चोरीको काठ वरामद गरेको थियो । आर्थिक वर्ष २०७७/०७८मा ९ वटा मुद्दामा १४ जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको जिल्ला वन कार्यालय महोत्तरीका सूचना अधिकारी सहायक वन अधिकृत मनोज ठाकुरले बताए । प्रतिवादीहरुसंग १ सय ५५ क्युबिक फिट काठ बरामद गरिएको छ । प्रतिवादीहरुसंग २५ लाख ४ हजार ४ सय ९९ रुपैयाँ विगो सहित मुद्दा दर्ता गरिएको सुचना अधिकारी ठाकुरले बताए । यता चालु आर्थिक वर्षमा असारदेखि हाल सम्ममा २ वटा मुद्दामा दुई जनालाई प्रतिवादी बनाई कारवाही गर्नुको साथै १ सय ९९ क्युबिक फिट काठ बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि वन तथा कसूर ऐन २०७६ अनुसार कारवाही चलाईएको प्रक्रिया अगाडी बढाइएको छ । आर्थिक वर्ष २०७७ देखि हाल सम्म ८ वटा अबैध कटर मेशिन, ३ वटा मोटरसाईकल , १५ वटा साईकल , २ सय ५० क्युबिक गोलिया काठ , १ सय ४५ क्यूबिक फिट चिरान काठ सहितका बेवारिसे समानहरु नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय महोतरीले जनाएको छ । पैदावार चोरी तस्करी बढ्दा महोत्तरीमा वन क्षेत्र अतिक्रमण बढेको छ । आर्थिक २०७७÷०७८ सम्ममा जिल्लाको ७ सय ५ हेक्टर वन क्षेत्र पुर्णतः अतिक्रमणको शिकार भईसकेको छ । आर्थिक वर्ष ०७७÷०७८ मा जिल्ला वन कार्यालयले १० हेक्टर अतिक्रमित जग्गालाई अतिक्रमणमुक्त गराई वृक्षारोपण गरेको छ ।
बर्दिबास नगरपालिका –१ स्थित ३ हेक्टर र बर्दिवास नगरपालिका –५ मा ४ हेक्टर क्षेत्रफलमा अतिक्रमणमुक्त गराई वृक्षारोपण गरिएको वन कार्यालय महोतरीले जनाएको छ । खाल्टेबजार गौशाला नगरपालिका स्थित ३ हेक्टर जंगल अतिक्रमित भएको थियो । अतिक्रमित क्षेत्रमा वृक्षारोपण गरिएको हो ।