
जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ असोज
प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ ।
लोसपाको अनुसार मुख्यमन्त्री राउतले संघीयतालाई बदनाम गराएको आरोप लगाउँदै राजीनामा माग गरिएको हो ।
लोसपाका सांसद उपेन्द्र महताले आज बसेको लोसपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग्ने बारे विषयमा छलफल भएको बताए ।
उनले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयबाट फाइल नियन्त्रणमा लिएर अनुसन्धान थालेको हुँदा प्रक्रिया पूरा नभएसम्म मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने सम्बन्धमा बैठकमा छलफल भएको बताए ।
उनले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा नै तत्काल राजीनामा दिनुपर्ने बताए ।
संसदीय दलको बैठकमा प्रदेश सरकारको गतिविधि, प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने बारे संसद् सचिवालयलाई जानकारी र प्रदेश सांसदहरुको लेवी बारे छलफल भएको महतोले जानकारी दिए
असोज २० गते बस्ने सातौं अधिवेशनको पहिलो प्रदेश सभा बैठक बस्ने भएको र सो बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यसूचि समेत रहेकोमा लोसपाले बैठक अवरुद्ध गरी मुख्यमन्त्रीलाई राजीनामा माग्ने तयारी गरेको सांसद महताले बताए ।
यता मुख्यमन्त्री कार्यालयबाट अख्तियारले छापामारी विभिन्न फाईलहरु नियन्त्रणमा लिएर गएपछि जसपाले अख्तियार विरुद्ध प्रदर्शन गर्दै आएको छ।
यस बीच आज सोमवार सिके राउत नेतृत्वको जनमत पार्टीले समेत आज मुख्यमन्त्री राउतको राजिनामाको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।