हिन्दुहरुको महान पर्व वडा दशैंको झिलिमिलि वातावरणले अहिले गाउँ,नगर गरी सम्पूर्ण देश नै हर्षमय देखिन्छ । शहरहरु बेहुली झै सिंगारिएका छन्् । बच्चा,युवा,व्यस्क तथा बुढाबुढीहरु उमेरका जनसमुदायमा समेत माता दुर्गा प्रतिको श्रद्धा तथा आस्थाले मन्दिरहरुमा खचाखच भक्तजनहरुको भिड देखिन थालेका छन् । घटस्थापनादेखि दशमीसम्म भगवती दुर्गाको नवौ स्वरुपको पुजाआजा गर्ने गरिन्छ । दशमीलाई विजया दशमी समेत भन्ने गरिन्छ । यसै दिन भगवान रामले रावणको बद्ध गरी असत्यमाथि विजय प्राप्त गरेको खुशीयालीमा विजया दशमीको रुपमा समेत मनाइने गरिन्छ । हिन्दु परम्परा अनुसार भक्तजनहरु माताको विभिन्न शक्तिपिठहरुमा गई पुजा अर्चना गर्ने चलन रही आएको छ । अष्टमीको राति ठाउँ अनुसार मातालाई खसी,बोका,हाँस लगायतका पशुहरुको बलि समेत भाकल अनुसार चढाइने गरिन्छ । तर विभिन्न ठाउँहरुमा बलि प्र्रथाको विरोध हुन थालेका छन्् । त्यसकारण अहिले बलि चढाउने संख्यामा क्रमिक रुपले कमी आएको छ । दशैमा धामी,झाक्री,ऋषि,तपस्वी तथा साधु सन्तहरुले माताको स्तुति गरेर दिव्य शक्ति समेत प्राप्त गर्ने गरेको किम्बदन्तीहरु छन् । माता दुर्गाले महिषासुरलाई बद्ध गरी देवता,ऋषि तथा महर्षिहरुको ज्यान रक्षा गर्नुभएको सत्य कथा छ । यस वर्ष माताको असिम कृपा सम्पूर्ण नेपालीलाई प्राप्त होस्् । कोरोनामुक्त समाजको स्थायित्वसँगै उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना ।