
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ११ कार्तिक
महोत्तरीको पर्सामा गोली प्रहार गरी डकैती गर्ने मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कारी पासवान भन्ने बिश्वनाथ पासवानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार अपरान्ह ४ बजेको समयमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ रघुनाथपुर स्थितमा घुमफिर गरी रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएको असार असार ३ गते मध्ये राती महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजार बस्ने ५७ वर्षीय बिरेन्द्र साहले आफ्नै घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा डकैती भएको थियो । ९।१० जनाको संख्यामा आएका हतियारधारी डाँकाहरुले घरको पछाडीबाट पर्खाल नाघी घर भित्र प्रवेश गरेर बिरेन्द्र साहको श्रीमती शुशिला देवी, उनको छोराहरू शम्भु साह, राजिव साह र छोरी कंचन कुमारीलाई रड समेतले प्रहार गरी घाइते बनाएका थिए । कटुवा पेस्तोलले बिरेन्द्र साहको ढाडमा गोली प्रहार गरी घाइते बनाएर अन्दाजी ८ लाख ९७ हजार २ सय मूल्य बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटपाट भएको थियो । सो घटनाको मुख्य अभियुक्त भएको अभियोगमा कारी पासवान भन्ने विश्वनाथ पासवानलाई प्रहरीले चार महिना पश्चात पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।