जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ आश्विन
जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीको चाप बढ्दै गएपछि शनिवार समेत सेवा दिनेगरी समयतालिका सार्वजनिक गरेको छ ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै प्रशासन कार्यालय परिसरमा सेवाग्राहीको चापलाई सहज बनाउने उद्देश्यले सेवा प्रवाहका लागि शनिवार समेत कार्यालय खुल्नेगरी कार्यतालिका नै सार्वजनिक गरिएको सहकाय प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिए ।जिप्रकाले जारी गरेको सूचनाअनुसार तोकिएको दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश पाउनेछन् । नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप १ जनामा कार्यालय परिसरमा प्रवेश गर्न सकिने जनाइएको छ । त्यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ भने रुघा–खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ । तालिकाअनुसार संघ÷संस्था दर्ता र नविकरणको काम आईतवारदेखि बुधवारसम्म गरिनेछ भने पत्रपत्रिका÷छापाखाना दर्ता र विधान संशोधनसम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने सूचनामा जनाइएको छ । त्यस्तै सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी वितरण गर्ने आदि सेवाहरु प्रदान गर्ने कामको समय तालिका स्थानीय निकायअनुसार छुट्टाछुट्टै समयमा गरिने जनाइएको छ । जसअनुसार आईतबार हंसपुरन नगरपालिका, धनुषाधाम नगरपालिका र विदेश नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका, मिथिला विहारी नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिका, बिहिबार जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिका, शुक्रबार मकला नगरपालिका, धनौजी गाउँपालिका र शहिदनगर नगरपालिकालाई सेवा उपलब्ध हुनेछ । त्यस्तै, शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीहलाई सेवा दिइनेछ । त्यसका लागि १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए । तर शनिबारको दिन नागरिकता वितरणसम्बन्धी बाहेकका काम हुने छैनन् ।