जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ कार्तिक
जनकपुरधाममा लगाइएको निषेधाज्ञा हटाइएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादको टुङ्गो लागेपछि स्थानीय प्रशासनले निषेधाज्ञा हटाएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा भएको विवादमा जिल्ला प्रशासन कार्यालय धनुषामा दुबै पक्षबिच ७ बुँदे सहमति भएको हो । स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग वृहत छलफल पश्चात ७ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए । छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो विषयलाई लिएर शनिवार पुनः झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झण्डा हटाउने,पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने,पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण उपमहानगरपालिकाले नै गर्ने, दुबै समुदायले एक अर्कालाई सम्मान गर्ने लगायतका सहमति भएको छ । उपप्रमुख रिताकुमारी मिश्रको संयोजकत्वमा ४ जना हिन्दु प्रतिनिधि र ४ जना मुस्लिम प्रतिनिधि रहने गरी सहमती कार्यान्वयनका लागि समिती समेत गठन गरिएको प्रजिअ वास्तोलाले बताए ।