सरकारले प्रचलनमा ल्याए ई–पासपोर्ट – Jaleshwortoday

सरकारले प्रचलनमा ल्याए ई–पासपोर्ट

 १ मंसिर २०७८, बुधबार २२:३९  
Epassport

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १ मंसिर
सरकारले बुधबारबाट नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई–पासपोर्टको लागि औंठाछाप(बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई–पासपोर्ट वितरण थालेको हो । संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई–पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरेका छन् । राहदानी विभागले ठेकदार कम्पनीसँग सम्झौता गरेको एक वर्ष नपुग्दै विद्युतीय रहादानी वितरण गर्न शुरु गर्न सक्नुलाई ऐतिहासिक भनेको छ । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई–पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । नेपालको पासपोर्ट अब अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै विभागले विगतमा हस्तलिखित राहदानी बाध्यात्मक अवस्थामा हटाइए पनि विद्युतीय राहदानी भने समयमै लागू गर्न सकिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । राहदानी विभागले त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा ई–पासपोर्ट छपाइ र वितरण थालेको छ । ई–पासपोर्ट वितरण थालेपनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न भने विभागले बन्द गरेको छैन । केही हप्ता सीमित संख्यामा मात्रै ई–पासपोर्ट वितरण गरेर एमआरपीको वितरण बन्द गर्ने योजना रहेको महानिर्देशक अर्याललले बताए । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको उनले बताए । जिल्लामा पनि क्रमैसँग ई–पासपोर्टको बायोमट्रिक लिनेसहितका व्यवस्था गर्दै जाने विभागले बताएको छ ।