सामाचकेवा पर्व तथा भुत मेला समपन्न – Jaleshwortoday

सामाचकेवा पर्व तथा भुत मेला समपन्न

 ३ मंसिर २०७८, शुक्रबार २३:१४  
Sama copy

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ मंसिर
मिथिलाञ्चलमा भाईबहिनीको पर्व सामाचकेवा तथा धामी—झाँक्रीको पर्व भुत मेला समपन्न भएको छ ।
कात्तिक शुक्ल पञ्चमीका दिन सुरु भई १० दिनसम्म अर्थात कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म मनाउने यो लोकपर्व गएराति सम्पन्न भएको हो । मिथिलाका नारीले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व गएराति धुमधामका साथ विभिन्न नदी, पोखरी तथा तालतलैयामा गएर सामाचकेवाको विसर्जन गरी समापन गरेको हो ।सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको थियो । बिहिबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सीमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाट पुगेका थिए । कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए । धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्र्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् । यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।