विशाल बस्नेत
काठमाडौं, ३ मंसिर
विवादका कारण महोत्तरीका केही वडामा नेपाली कांग्रेसको अधिवेशन हुन नसकेकाले शुक्रबार हुने भनिएको प्रदेश अधिवेशन अन्योलमा परेको छ । महोत्तरीका १५ स्थानीय तहमध्ये सातवटामा निर्वाचनमार्फत र ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बल्वा नगरपालिकामा विवादका कारण अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको कांग्रेस महोत्तरीले जनाएको छ । मनरासिस्वा नगरपालिका–८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन । एक सय ३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए । मनरासिस्वा–८ मा त उम्मेदवारहरूबीच हात हालाहाल भएपछि वडा अधिवेशन स्थगित भएको थियो । सातवटा पालिकामा भएको निर्वाचनको परिणाम अझै आउन बाँकी रहेकाले प्रदेश अधिवेशन अन्योलमा परेको हो । शुक्रबार खुल्लासत्र गर्ने तर निर्वाचनका विषयमा भने छलफल भएको छैन, सभापति रायले भने । जलेश्वर, भंगाहा र मनरासिस्वाको मतपरिणाम आइसकेको छैन । विवाद भएका वडा र पालिकाबाहेक अन्य सबै ठाउँको अधिवेशन आजै टुंगोमा पु¥याउने नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए । निर्वाचन सहजीकरण गर्न केन्द्रवाटै आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सवैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ । ञउम्मेदवारमा भन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर ठूलो विवाद छ, उनले भने ।